NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रिक्सा चालकको विधानसभा यात्रा : शरणार्थी शिविरमा बित्यो बालापन, लेखिकासँगको भेटले बदलियो जीवन

पटना । भारत विभाजनपछि ६ वर्षको उमेरमा एक बालक बंगालको शरणार्थी शिविरमा पुग्यो । बालापन यति मुस्किल थियो कि, चिया पसलमा काम गर्नुपर्‌यो । पेट पाल्नकै लागि पढ्ने-लेख्ने उमेरमा मजदूरी गर्नुपर्‌यो । तत्कालीन समयमा यी बालकको उमेर अलि छिप्पिएको हुन्थ्यो भने नक्सल आन्दोलनको हिस्सा पनि बन्न सक्थे । तर पछि यही आन्दोलनकै कारण उनी लामो समयसम्म जेलमा बस्नुपर्‌यो । अन्ततः आन्दोलनबाट पनि उनको मोहभंग हुन्छ । पछि जादवपुर विश्वविद्यालयअगाडि रिक्सा चलाउन थाल्छन् । यी सबै पुराना कुरा हुन् । ताजा जानकारीअनुसार मनोरञ्जन व्यापारी, कुनैबेलाका रिक्सा चालक तृणमूल कांग्रेसको टिकटमा जीत निकाल्दै विधायक बनिसकेका छन् । उनी ममता बनर्जीको सरकारमा मन्त्री हुने अपेक्षा पनि गरिएको छ । रिक्सावालादेखि माननीय विधायक बनिसकेका मनोरञ्जन व्यापारीको उतारचढावले भरिएको जिन्दगीबारे यहाँ केही चर्चा गरिएको छ । कलिलैमा भोक र शोक चिनेका मनोरञ्जनभारत विभाजनको करिब ६ वर्षपछि सन् १९५३ मा मनोरञ्जन आफ्नो परिवारका साथमा तत्कालीन पूर्वी पाकिस्तानको बरीशाल (हाल बंगलादेश) बाट पश्चिम बंगालस्थित बान्कुडा शरणार्थी शिविरमा पुगेका थिए । केही दिनपछि उनीहरुलाई दन्डकारण्य जान आदेश दिइयो । तर मनोरञ्जनका पिताले त्यहाँ जान मानेनन् । त्यसपछि सुरु भयो मनोरञ्जनको संघर्षको जीवनको अन्तहीन सिलसिला । उनी बालकमै चिया पसलमा काम गर्न थाले । भन्छन्, ‘आँखै अगाडि भोकका कारण बहिनीले तड्पिँदै ज्यान गुमाएको देखेको छु ।’ त्यसपछि उनी कामकै लागि दार्जिलिङ, जलपाईगुडी, ग्वाटी, लखनऊ र बनारसजस्ता शहरमा भौंतारिए । तर कतै पनि मन स्थिर रहन सकेन । त्यहाँबाट उनी कोलकाता फर्किए । सन् ६० को दशकमा पश्चिम बंगालमा जब नक्सल आन्दोलन चरम उत्कर्षमा थियो, उनी उक्त आन्दोलनसँग पनि जोडिए । २६ महिना जेल जीवन बिताए । फेरि आन्दोलनका नेतृत्वकर्ताको चालचलनबाट उनको मोहभंग भयो । जेलबाट बाहिर आएपछि कोलकाताको जादवपुर रेलवे स्टेसनअगाडि रिक्सा चलाउन थाले । लेखिकासँगको भेटले कोरेको लेखक बन्ने बाटोरिक्सा चलाउने क्रममा एक दिन अचानक एक महिला यात्रुसँग उनको भेट भयो । जसले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो । ती महिला थिइन्, आदिवासीको हकमा लड्दै आएकी लेखिका महाश्वेता देवी । मनोरञ्जनले हिम्मत जुटाउँदै यी महिलासँग ‘जीजीविषा’ शब्दको अर्थ सोधे । यो सवालले महाश्वेता अचम्मित भइन् । उनले उक्त शब्दको अर्थ त बताइन् तर रिक्सावालाको अतित पनि पल्टाउन सुरु गरिन् । महाश्वेताले आफ्नो पत्रिका ‘बार्तिक’ मा अहिलेसम्मको जीवन र संघर्षबारे कहानी लेख्न भनिन् र आफ्नो ठेगाना पनि दिइन् । यो कुरा सन् १९८१ तिरको हो । मनोरञ्जन भन्छन्, ‘महाश्वेता देवीसँगको भेटले मेरो जीवनको दिशा नै बदलिदियो । यदि उहाँसँग भेट हुन्थेन भने, सायद म रिक्सा नै चलाइरहेको हुन्थे ।’ दर्जनौं पुस्तक प्रकाशितमहाश्वेताको पत्रिकामा कथा छापिएपछि बिस्तारै उनका लेखहरु प्रकाशित हुन थाले । उनले बांग्ला पत्रपत्रिकामा लेख छपाउँदै जाँदा पूरै बंगालमा उनको पहिचान बन्यो । नक्सल आन्दोलनका बेला जेलमा हुँदा कैदीलाई जेलरले पढ्ने प्रेरणा दिएका थिए । मनोञ्जनले अलीपुर जेलमा पढ्न-लेख्न सिकेका थिए । तर महाश्वेतासँगको भेटपछि उनी साहित्यकार बने । आखिर महाश्वेतासँग जीजिविषाको अर्थ सोध्ने प्रसंग कहाँबाट आयो ? मनोरञ्जन भन्छन्, ‘उनी कुनै प्रोफेसर हुन् भन्ने मलाई लागेको थियो, यसैकारण हिम्मत जुटाएर मैले प्रश्न सोधिहालेँ ।’ मनोरञ्जनको जीवनमा महाश्वेता देवीको असर यतिसम्म गहिरो परेको छ कि, उनले आफ्नी छोरीको नामसमेत महाश्वेता नै राखेका छन् । सन् १९८१ मा लेखक–साहित्यकारका रुपमा सुरु भएको उनको सफरले अहिले उचाइ हासिल गरेको छ । हालसम्म उनका आत्मकथासहित दर्जनौं पुस्तकहरु प्रकाशित भइसकेका छन् । केही आउने क्रममा पनि छन् । दर्जनौं पुरस्कार पनि उनले हात पारेका छन् । दलित वर्गको संघर्ष र नक्सल आन्दोलनबारे लेखिएका मनोरञ्जनका पुस्तक ख्यातिप्राप्त अंग्रेजी प्रकाशकले छाप्दै आएका छन् । मनोरञ्जन भन्छन्, ‘मेरो बालापन जुन अवस्थाबाट गुज्रियो, मैले यहाँसम्म पुग्ने कल्पना पनि गरेको थिइन । खासगरी पछिल्लो एक वर्षयता मेरो जिन्दगी पूरै तरिकाले बदलिएको छ । किताब लेख्दै एक सरकारी स्कुलमा बालबच्चाका लागि खाना पकाउनु मेरो दिनचर्या नै भइसकेको थियो । अहिले विधायक बनेर त्यसै समाजका लागि केही गर्न सकुँ । खासगरी दलित र पिछडा वर्गको उत्थानका लागि म केही काम गर्नेछु ।’ ममता बनर्जीले जब तृणमूल कांग्रेसको उम्मेदवारीको सूची जारी गरिन्, त्यसमा मनोरञ्जनको नाम देखेर कोही आश्चर्यचकित भने भएनन् । गतवर्ष नै ममताले मनोरञ्जनलाई खाना पकाउने ड्युटीबाट हटाएर लाइब्रेरीमा नियुक्त गरेकी थिइन् । त्यसपछि सरकारले नयाँ दलित संगठनको निर्माण गरेको थियो । त्यसको अध्यक्ष थिए मनोरञ्जन । रिक्साबाटै चुनावी प्रचारसडकबाट सत्ताको सफर तय गरेपछि पनि मनोरञ्जनले आफ्नो अतित भुलेनन् । उनले रिक्साबाटै गएर आफ्नो मनोनयन दर्ता गरे । चुनावी प्रचार पनि रिक्सामै बसेर गरे । चुनाव अभियानका बेला उनका समर्थक रिक्साको लहरमा नारावाजी गर्दै विधानसभा पुगेका थिए । उनी आफ्नो हातमा सँधै एक औंठी लगाइरहेका हुन्छन् । जसमा जीजिविषा शब्द लेखिएको छ । उनी भन्छन्, ‘एकपटक मैले बांग्लाका महान् साहित्यकार महाश्वेता देवीसँग यसको अर्थ सोधेको थिएँ । उनले जुन अद्भूत तरिकाले यसको अर्थ सम्झाइन्, त्यसबाट एक लेखकका रुपमा मेरो पुनर्जन्म भयो ।’ तपाईं आखिर चुनाव प्रचार या मनोनयनका लागि रिक्सामै किन जानुभयो ? यो प्रश्नमा मनोरञ्जन भन्छन्, ‘देशमा डिजेल र पेट्रोलको भाउले आकाश छोइरहेको छ । यसप्रति विरोध जनाउनका लागि नै मैले रिक्सा छानेको हुँ । रिक्सा मेरो जीवनको अभिन्न अंग रहँदै आएको छ । यसलाई म कसरी भुल्न सक्छु र ?’ पश्चिम बंगालमा दलितको अनुहार आवाज बनिसकेका मनोरञ्जन आफ्नो चुनावी प्रचारका बेला भन्दै थिए, ‘म तपाईंजस्तै एक सामान्य व्यक्ति हुँ । ओत लाग्ने छत नभएका कारण कैयौं रात रेलवे प्लेटफर्ममा सुतेर कटाएको छु ।’ वास्तवमा मनोरञ्जन शुद्र जातिका हुन् । जसलाई भारतमा दलित मानिन्छ । यस समुदायका धेरैजसो मानिस बंगलादेशबाट आएका हुन् र उनलाई अहिलेसम्म स्थायी वासिन्दाको नागरिकतासम्म पनि मिलेको छैन । केन्द्रीय शासनसत्ता सम्हालेको भाजपाले ध्रुवीकरण र जातिगत पहिचानको राजनीतिका साथ यस समुदायलाई आकर्षणमा पार्न सीएएमार्फत नागरिकता दिने बताएको थियो । यसैको विरुद्ध प्रतिस्पर्धाका लागि ममताले मनोरञ्जनलाई चुनावी मैदानमा उतार्ने फैसला गरिन् । बालागढ विधानसभा क्षेत्रमा दलित समुदाय निकै राम्रा मतदाता हुन् । उनीहरु सबैको समर्थन मनोरञ्जनलाई प्राप्त भयो । र उनी विधासभा पुगे । सन् १९९७ मा दक्षिण कोलकाताको एक मूक बधिर स्कुलमा छात्रका लागि खाना पकाउने मनोरञ्जन भन्छन्, ‘बढ्दो उमेर, घुँडामा पीडा हुने र अपरेसन गरेका कारण उभिएर खाजा पकाउन मुस्किल भएको थियो । यसकारण मैले गतवर्ष ममता दिदीलाई आफ्नो समस्या राख्दै पत्र पठाएको थिएँ । उहाँले तुरुन्त त्यसको समाधान गर्दै लाइब्रेरीमा नियुक्त गर्नुभयो ।’ त्यसपछि ममताले जब दलित समुदायको गठनको घोषणा गरिन्, तब मनोरञ्जनलाई नै उक्त संगठनको अध्यक्ष बनाइन् । मनोरञ्जन हाल ममता दिदीको सपथमा व्यस्त छन् । आफ्नो प्राथमिकताबारे उनी भन्छन्, ‘कमजोर समुदायका लागि काम गर्न चाहन्छु । अगाडि पनि गर्दै जानेछु । यसबाहेक राज्यमा एनआरसी र सीएएजस्ता कानुनको विरोधको आवश्यकता पनि छ ।’ (प्रभाकर मणि तिवारीले दैनिक भास्करका लागि तयार पारेको लेखको भावानुवाद)