NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । विश्वासको मत लिन घोषणा गरेसँगै ओलीले आफू विपक्षमा रहेका दलहरुलाई फकाउने कोशिस गरिरहेका छन् । बालुवाटार स्रोतका अनुसार देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठमै पुगेका हुन् । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अहिले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच छलफल भइरहेको छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले बैशाख २७ गतेका लागि विशेष अधिवेशन आह्वान पनि गरिसकेका छन् । यस्तोमा नेकपा माओवादी केन्द्रले पनि मंगलबार आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । मंगलबार बसेको कांग्रेसको पदाधिकारी बैठकले नै ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । तर, पहिलेदेखि नै आफूति उदारवादी देखिएका देउवालाई फकाउन प्रधानमन्त्री ओली उनकै निवासमा पुगेको बताइएको छ । उनले विश्वासको मत लिनका लागि जसपापछि कांग्रेसलाई फकाउने प्रयास गरिरहेका छन् । जसपाको महन्थ ठाकुर खेमा भने ओलीतिरै देखिएको छ । यद्यपि कांग्रेसका केही सांसदहरुको सहयोग पाए भने पनि ओलीले विश्वासको मत लिन सक्नेछन् । सोही प्रयासकै लागि उनी देउवालाई भेट्न निवास बुढानिलकण्ठमा पुगेका हुन् । प्रधानमन्त्री ओलीले साथमा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि देउवा निवासमा छलफलका लागि सँगै लिएर गएका छन् ।