NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अक्सिजन अभाव भएपछि नेपालगन्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

काठमाडौं । कोरोना भाइरसका बिरामीको अवस्था थेग्न नसक्ने भएपछि बाँकेको कोहलपुरपस्थित नेपालगन्ज मेडिकल कलेजले अब थप बिरामी भर्ना नलिने भएको छ । अक्सिजनको चरम अभाव भएको भन्दै मेडिकल कलेजले अब कोरोना थप बिरामी भर्ना लिन नसक्ने जनाएको हो । मेडिकल कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण सेवा बन्द गरेर तीन सय शय्यासम्मको कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि अक्सिजन अभावका कारण अब अन्य बिरामी धान्न नसक्ने बताएको छ । अक्सिजन अभावका कारण हाल मेडिकल कलेजले एकसय ३५ बेड मात्रै सञ्चालनमा ल्याएको छ । ‘अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेकाबाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ अस्पतालले विज्ञप्तिमा भनेको छ । महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउन सक्ने जानकारीसमेत गराइसकेको अस्पतालले स्पष्ट पारेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्यांक वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ । कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग मागसमेत गरेको छ । हाल अस्पतालमा १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । सरकारले अक्सिजनको प्रवन्ध गरेमा मात्रै अन्य बिरामीहरुलाई उपचारका लागि अस्पतालले भर्ना लिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।