NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीलाई देउवाले भने : तपाईंलाई असफल बनाउने हो

काठमाडौं । विश्वासको मत दिन आग्रह गर्दै सिनियर नेतासहित आफ्नो निवास आएका प्रधानमन्त्री केपी ओलीको प्रस्तावलाई कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । २७ वैशाखमा बस्ने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी ओलीले विश्वासका मत लिने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेससँग विश्वासको मत माग्न ओली देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । तर, देउवाले ओलीको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका छन् । ‘संसदमा विश्वासको मत माग्ने तयारीपछि प्रधानमन्त्री सहयोगको आग्रह गर्न क्याविनेटका सदस्य र नेतासहित सभापतिलाई भेट्न आउनुभएको थियो’ भेटबारे जानकारी दिंदै महामन्त्री पूर्ण बहादुर खड्काले नेपालवाचसँग भने, ‘कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रतिपक्षी दलको धर्म प्रधानमन्त्रीलाई विश्वासको मत दिने होइन । हाम्रो धर्म त तपाईंलाई विश्वासको मत लिनबाट असफल बनाउने हो । हामीले पदाधिकारी बैठकबाटै तपाईंहलाई विश्वासको मत पुग्न नदिने गरी अघि बढ्ने निर्णय गरिसकेका छौं ।’ देउवाले देशैभरि कोभिडको महामारी बढेको भन्दै सबै बिरामीलाई निशुल्क उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । ‘कोभिडको महामारीबाट देश नै आक्रान्त छ । सबैलाई बिरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन सभापलिते आग्रह गर्नुभएको छ । बिरामीलाई बचाउने काम गर्नुस् कोभिडविरुद्ध चालिने हरेक काममा हाम्रो सहयोग रहनेछ भनेर सभापतिले भन्नुभएको छ’ खड्काले भने, ‘तर, कोभिडको भ्याक्सिन ल्याउन भइरहेको ढिलाईप्रति सभापतिले प्रधानमन्त्रीको जोडदार ध्यानाकर्षण गराउनुभएको छ ।’ भेटमा दुवै दलका तर्फबाट सिनियर नेताहरु सहभागी थिए । एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल र पौडेल पौडेल सहभागी थिए । कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल, विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए ।