NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दोलखाको चरीकोटमा अत्याधुनिक पीसीआर प्रयोगशाला सुरु

काठमाडौं । दोलखा जिल्लामा कोराना भाइरस संक्रमितको पीसीआर परीक्षणका लागि प्रयोगशाला सुरु भएको छ । जिल्लामै पहिलो यो प्रयोगशालाको भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा बुधबार उद्घाटन गर्दै पीसीआर परीक्षण सुरु गरिएको हो । प्रयोगशाला २४ घण्टा चलाउँदा ५ सयसम्म स्वाब परीक्षण गर्ने क्षमता छ । दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरिएको बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा. नारायणबहादुर कार्कीले जानकारी दिए । उक्त प्रयोगशालामा दोलखा नजिकका रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि स्वाब संकलन गरेर ल्याउन सकिने बताइएको छ । चरीकोटमा प्रयोगशाला सुरु गरिएसँगै बाग्मतीअन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर र सिन्धुलीमा प्रयोगशाला सञ्चालनमा छन् । प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार त्यहाँ रहेका यन्त्र अहिलेसम्म बनेकामध्ये राम्रो मानिएको छ । यहाँ राखिएको यन्त्रमा पीसीआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने डा. कार्कीको भनाइ छ । प्रयोगशालामा माइक्रोबाइलोजिष्टसहितको जनशक्ति अहिले भए पनि नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताए । थप जनशक्ति प्रदेश सरकारले पठाउने बाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् । मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला सञ्चालनमा ल्याएको जनाउँदै उनले अहिले न्यूनतम जनशक्ति भए पनि थप प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताइन् ।