NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपाल समूहले वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा दिने

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले वैशाख २७ गतेअघि नै सांसदबाट सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै अप्ठ्यारोमा परेको नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको हो । प्रधानमन्त्रीको पक्षमा मतदान गर्दा उनले चाल्न लागेको राजनीतिक प्रतिगमनको साक्षी बनिने र फ्लोर क्रस गर्दा कारबाहीमा परिने नेपाल समूहको चिन्ता छ । केपी शर्मा ओलीविरुद्ध पार्टीभित्र अन्तरसंघर्ष चर्काउने निष्कर्षमा रहेको माधव नेपाल समूहले संसद बैठक अघि नै सांसदबाट सामूहिक राजीनामा दिने निष्कर्ष निकालेको हो । राजनीतिक षड्यन्त्रका लागि प्रधानमन्त्रीले संसदमा विश्वासकाे मत लिन खोजेको भन्दै नेपाल समूहले प्रधानमन्त्रीले चाल्ने प्रतिगमनको साक्षी नबन्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनमा जानैका लागि संसदमा विश्वासकाे मत लिन लागेको नेपाल पक्षको निष्कर्ष छ । तर चुनावमा जाने नाममा अर्को राजनीतिक षड्यन्त्रको घटना हुनसक्ने उनीहरुको आशंका छ । ‘प्रधानमन्त्री चुनावमा जान्छु भन्छन्, तर भएको पार्टी विभाजन गर्न मरिहत्ते गरेर लागेका छन् । एमाले उपमहासचिवसमेत रहेका घनश्याम भुषाल भन्छन्, चुनावमा जान खोजेको मान्छेले चुनाव अघि पार्टी फुटाउन खोज्छ की खोज्दैन ? त्यो आफैँमा रहस्यमय छ ।’ पार्टीबाट नेपाल समूहलाई गलहत्याएर निकाल्ने र जसपाको महन्थ ठाकुर पक्षलाई गृहमन्त्री लगायत महत्वपूर्ण जिम्मेवारी दिएर गठबन्धन गर्न खोज्ने प्रधानमन्त्रीको प्रयासलाई नेपाल समूहले अर्को रहस्यको विषय मानेको छ । नेता भुषाल भन्छन्, प्रधानमन्त्रीलाई अहिले कसैले पनि बुझ्न सकिरहेको छैन । भुषालको बुझाईमा संविधानसँग असहमत शक्तिहरुले संसद विघटन गराउन चाहन्थे । अहिलेको उपलब्धी भत्काउन चाहन्थे, त्यो स्वार्थ पूरा गराउने दिशामा प्रधानमन्त्री ओली हिडेका छन् । भुषालले आफूहरु प्रधानमन्त्रीसँगै रहेर संविधान विघटनको साक्षी बन्न नसक्ने बताएका छन् । त्यो राजनीतिक कलंकाबाट मुक्त हुन यो प्रकृयाबाट अलग हुन चोहेको र त्यही क्रममा सामूहिक राजीनामाको तयारी गरेको उनले नेपालवाचलाई बताए । नेपालवाचसँग कुरा गर्दै नेता भुषालले प्रधानमन्त्रीले मुलुकलाई बर्बादीतिर लैजाने लागेको प्रकृयामा हाम्रो असहमति छ भनेर हामीले आफूलाई अलग गर्नेबाहेक अहिले हामीसँग अर्को विकल्प बाँकी छैन । संसदकाे अंकगणित अहिलेकाे प्रतिनिधिसभा २७५ सदस्यीय हो । तर, अहिले कांग्रेसका दुई, जसपाका दुई गरी ४ सांसद निलम्बित छन् । माओवादी छोडेर चार सांसद एमाले प्रवेश गरेपछि चार सिट खाली हुँदा ८ सांसदले भोट हाल्न पाउँदैनन् । यस्तोमा संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३१, जनमोर्चा, राप्रपा र नेमकिपाका ११ गर्दा २६७ को संख्या हुन आउँछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २६७ को बहुमत आर्थत् १३४ सांसद पुर्याउनुपर्ने हुन्छ । यस्तोमा सिंगो एमालेको १२१ मा थप १३ सिट ओलीलाई आवश्यक पर्छ । यस्तोमा विभाजित अवस्थामा रहेको जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदले विश्वासको मत पुग्ने गरी मत दिन सक्छन् । तर, यतिखेर एमालेमा माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा मनस्थिति बनाइसकेका छन् । प्रतिनिधिसभामा नेपाल पक्षका सांसद ३१ जना छन् । जहाँ प्रत्यक्ष चुनाव जितेका २१ र समानुपातिकतर्फका सांसद १० जना रहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कारवाही गर्ने प्रयास स्वरुप स्पष्टीकरण सोधिसकेका छन् । ओलीले एकलौटी पार्टी चलाएको र आफूहरुलाई किनारामा पुर्याएको भन्दै उनीसँग नझुक्ने तर समानान्तर गतिविधि अघि बढाउने अभ्यासमा छन् । यस्तोमा कारवाही गर्दा ओलीलाई नै बहुमत पुरयाउन जटिल हुने देखिएको छ । आफूहरुमाथि कारवाही हुने नै भए ओलीलाई थप अप्ठ्यारो पार्ने गरी नेपाल पक्षका निर्वाचित सांसदले राजीनामा दिने विषयमा छलफल अघि बढाएका समाचारहरु आएका छन् । केन्द्र मात्रै हाेइन प्रदेशमासमेत सामूहिक राजीनामा दिएर समीकरणमा अप्ठ्याराे पार्ने तयारी नेपाल पक्षकाे छ । यस्तोमा एमालेमा नेपाल पक्षका २१ प्रत्यक्ष सांसदले राजीनामा दिए २४५ सांसदको बहुमत जुटाउनुपर्ने हुन्छ । २४५ को बहुमत जुटाउन १२३ सांसदको आवश्यकता पर्छ । यस्तोमा एमालेमा १२१ बाट २१ घट्दा १०० सांसद हुन्छन् । ओलीलाई विश्वासको मत लिन पूरै जसपाको साथ भए सहज हुन्छ । अन्यथा जसपा फुटेर आधा भए पनि उनलाई बहुमत पुग्ने छैन । जसपामा पूर्व राजपाका १५ सांसद (महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष) छन् । अर्को पूर्व समाजवादी पार्टीका तर्फबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यावदका पक्षमा १७ सांसद छन् । यो पक्ष कुनै हालतमा ओलीलाई भोट नदिने मनस्थितिमा छ । जसपाका आधा सांसद र अन्य तीन सांसदले साथ दिए पनि ओलीलाई बहुमतका लागि १२३ सिट पुग्ने छैन ।