NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

उडान बन्द हुँदा ५० हजार श्रमिक विदेशमा अलपत्र, शव ल्याउन पनि समस्या

सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्दा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन् । यही कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन पनि समस्या भएको छ । सरकारले गत वर्षको लकडाउनमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र लामो समयदेखि रोकिएका शव ल्याउन चार्टर्ड उडानको व्यवस्था गरे पनि चालू निषेधाज्ञामा सोको व्यवस्था गर्न नसक्दा मृतक श्रमिकको शव र अलपत्र तथा करार सम्झौता सकिएका नेपाली श्रम गन्तव्यमा रोकिन थालेका हुन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका मासिक ६० शव हवाई मार्गमार्पmत आउने गरेको जनाएको छ । यसैगरी श्रम गन्तव्यमा अलपत्र परेका, श्रम सम्झौताको करार अवधि सकिएका श्रमिक मासिक रूपमा ६० हजारको हाराहारीमा आउने गरेका थिए । हालको निषेधाज्ञामा पनि वैदेशिक रोजगार बोर्डले विदेशमा अलपत्र तथा मृतक श्रमिकको उद्दारका लागि परिवारले दिएको निवेदन लिने गरे पनि हवाईसेवाको वैकल्पिक व्यवस्था गर्न नसक्दा अलपत्र श्रमिक र मृतकको शव गन्तव्य मुलुकमा नै रोकिएका छन् । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अलपत्र र मृतक श्रमिक धेरै रहेका मलेसिया र खाडीका नियोगलाई हवाईसेवा बन्द रहेको जानकारी दिइसकिएको बताए । उनले लामो समय हवाईसेवा बन्द भए उद्दार र शव व्यवस्थापनमा समस्या हुने जानकारी दिए । बोर्डले निषेधाज्ञाका समयसमेत मृतक श्रमिकको शव निःशुल्क गृहजिल्ला ढुवानी गर्ने गरी अनलाइन आवेदनको व्यवस्था गरे पनि शव नआउँदा हवाईसेवा दिन नसकेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १७ गतेसम्मको प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको सो अवधिसम्म ३ लाख ८१ हजार श्रमिक स्वदेश फर्किएको जनाएको छ । विगत एक महिनामा मात्र विभिन्न श्रम गन्तव्यबाट ६३ हजार १९१ श्रमिक स्वदेश फर्किएका छन् । यसरी फर्केनेमध्ये लामो कोरोना संकटपछि रोजगारी गुमाएका, करार अवधि समाप्त भएका र बिदामा आएका श्रमिक रहेका छन् । काराेबार दैनिकमा खबर छ।