NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अस्पतालबाट निकालिए काेभिड बिरामी, बिरामी भर्ना नगर्ने आधा दर्जन अस्पतालकाे घाेषणा

अक्सिजनकाे हाहाकारसँगै बिरामीलाई अन्यत्र लगिन थालिएकाे छ। नेपाल मेडिकल कलेजमा भर्ना भएका २२ संक्रमित मंगलबार अन्तै लगिए । नेपाल मेडिसिटी, मेडिकेयर, ओम, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री, दीर्घायुलगायतका अस्पतालले अब भर्ना गर्न नसक्ने घोषणा गरेका छन् । नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा राजेशकिशोर श्रेष्ठले बताए । मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायुले अक्सिजन नभएकै कारण बिरामी लिने अवस्था नरहेको भन्दै आइतबार नै विज्ञप्ति निकालेको थियो । ‘अक्सिजन दिनुपर्ने बिरामी भर्ना लिन सकिएको छैन,’ मेडिकेयर अस्पतालका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देलले भने, ‘अक्सिजन सहज नभई बिरामी लिँदा अप्रिय घटना हुन्छ । त्यसैले अक्सिजन सहज नभएसम्म जटिल खालका बिरामी लिन सक्दैनौं ।’ अक्सिजन नपाएकै कारण संक्रमितको मृत्युदर पनि बढेको छ । सोमबार १ सय ३९ जनाको मृत्यु भएकामा मंगलबार ज्यान गुमाउनेको संख्या २ सय २५ पुगेको छ । यसअनुसार हरेक ६ मिनेटमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अक्सिजन व्यवस्थापनको जिम्मेवारी सीसीएमसीले लिएको बताए । कान्तिपुर दैनिकमा खबर छ।