NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

वाग्मती प्रदेशमा एकै दिन ३४ संक्रमितको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या ५३ हजार नाघ्यो

हेटौंडा । वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र ७ पुरुष गरी कूल १८ जना छन् । त्यस्तै ललितपुरमा चार, भक्तपुरमा तीन, चितवन, दोलखा र सिन्धुलीमा दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकमा एक/एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठमाडौंका दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक सय, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछापका २४, दोलखाका १५, काभ्रेका १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ५३ हजार ३७५ छ । तीमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडीयूमा ३७८, आईसीयूमा ६९८, भेन्टिलेटरमा २२० छन् भने ४९ हजार ५९८ संक्रमितहरू होम आइसोलेसनमा बस्दै आएका छन् । । (रासस)