NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संसदमा हाम्रो पक्ष अनुपस्थित हुनु दल त्याग गरे समान हो : भीम रावल

काठमाडौं । एमाले माधव नेपाल पक्षका नेता भीम रावलले संसदमा अनुपस्थित हुनु दल त्याग सरहको विषय भएको बताएका छन् । नेपालवाचसँगको कुराकानीमा रावलले अनुपस्थितभन्दा राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका हुन् । ‘मैले व्यक्तिगत रुपमा सुरुदेखि नै अनुपस्थित हुनेभन्दा राजीनामा दिनु राम्रो भनेर संगठनभित्र भन्दै आएको हो । अहिलेको कानुन बमोजिम अनुपस्थित हुने भनेको दल त्याग गरेको ठहर हुन्छ । राजीनामा गर्दा पद स्वेच्छाले छोडेको भन्ने हुन्छ । दल त्याग गरेको अर्थ लाग्दैन’ रावलले भने, ‘तर अनुपस्थित भएर निर्देशन नमानेको दल त्याग गरे समान हुन्छ । केपी शर्मा ओली ज्यूको अलोकतान्त्रिक स्वेच्छाचारी कार्यलाई रोक्नुपर्ने सुरुदेखि भन्दै आएका हौं । त्यसको अर्थ हामीले उहाँलाई प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने धारणा हो । त्यसको लागि प्रतिनिधिसभाको सम्पूर्ण सदस्यको संख्या घटाइदिनुपर्छ ।’ राजीनामाका विषयमा पटकपटक छलफल भएको भन्दै उनले यसबारे माधव नेपालले उचित समयमा निर्णय गर्ने जानकारी दिए ।‘यस सम्बन्धमा पटक–पटक हाम्रो आन्तरिक रुपमा छलफल भयो । यस सम्बन्धमा हाम्रो पार्टीका वरिष्ट नेता माधवकुमार नेपालसँग आवश्यक समन्वय गर्ने र उहाँले नै उपयुक्त समयमा राजीनामा दिनेबारे निर्णय गर्ने भनेका छौं । अरु थप कुरा केही भएको छैन ।’ उनले भने, ‘तर मेरो स्पष्ट धारणा, अनुपस्थित हुनेभन्दा राजीनामा दिनु नै कानुनी राजनीतिक, नैतिक दृष्टिकोणबाट उत्तम र सही हो भन्ने हो ।’ आफूहरु पार्टीमा मिलेर जान तयार भए पनि ओलीले जालझेल मात्रै गरेको आरोप उनले लगाए । ‘उहाँसँग समझदारीको लागि तयार नै हुनुहुन्न । सबै नक्कली जालझेल प्रपञ्च मात्रै गर्नुहुन्छ । हामीले अनुपस्थित हुनुभन्दा अगाडि व्यवस्थित रुपमा हाम्रो तर्फबाट छ बुँदे लिखित प्रस्ताव पठाइएको छ । त्यसको कुनै जवाफ दिनुभन्दा उल्टै केपी ओली ज्यूले एकदम दम्भ र अहंकारले भरिएको वक्तव्य हामीमाथि प्रहार गर्नुभयो’ रावलले भने, ‘त्यस्तो मानिसले कुनै वार्ताबाट समाधान खोज्नुहोला, महाधिवेशनको मूल्य मान्यता र सिद्धान्तलाई मान्नुहोला, परिवर्तन होला, सर्वाेच्च अदालतको फैसला मानेर नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सम्मान गर्नुहोला होला भन्ने आशा अत्यन्तै कम छ ।’