NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यादवको शोकमा एमालेले पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको एक निष्ठावान इमान्दार जुझारु नेता गुमाएको बताएका छन् । पार्टीले यादवको निधनमा शोक मनाउन बिहीबारदेखि तीन दिन पार्टी केन्द्रीय कार्यालयको झण्डा आधा झुकाउने र पार्टी केन्द्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण यादवको ५६ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको थियो । पार्टीका धनुषा जिल्ला सहइन्चार्ज रुपमा रहेका यादव नवौं महाधिवेशनमा वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए । यादव पार्टीका भूमिगतकालदेखिका पुराना कार्यकर्ता, ०५० सालमा धनुषाको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको सचिव, आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका एमालेले जनाएको छ । उनी ०५६ सालको निर्वाचनमा धनुषा जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।