NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सामाजिक सञ्जालमा देखिएको इजरायल-प्यालेस्टाइनको द्वन्द्व

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच लडाईं बढिरहँदा भिडियो सेयरिङ एप टिकटक दुई देशको तनावलाई देखाउने माध्यम भइरहेको छ । गीतसंगितमा लिप्सिङ गरेर भिडियो हालिने टिकटक चर्चामा आएपछि समाचार प्रसारणको लागि पनि उत्तिकै प्रयोग भइरहेको छ । यो चिनियाँ एपमा प्रयोगकर्ता यति रफ्तारले वृद्धि भइरहेका छन् कि पछिल्लो महिनामात्रै ७० करोड नयाँ प्रयोगकर्ता थपिएका छन्, जसमध्ये अधिकांश युवाहरु छन् । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किरहँदा आकाशमा देखिएका रकेट, गाजा शहरमा भएको विकास र प्यालेस्टाइनमा भइरहेको प्रदर्शन यो एपमा चर्चामा आएका छन् । टिकटकले दुई देशबीचको हिंसात्मक द्वन्द्वलाई दुनियाँभरका मानिसको स्क्रिनमा ल्याइदिएको छ । तर, दुई देशको द्वन्द्व विश्वभर पुर्याइरहँदा टिकटक र यस्ता अन्य एपमाथि झुट र चरमपन्थी विचार फैलाएको आरोप पनि लागिरहेको छ । गत हप्ता गाजा शहर र इजरायलमा भएको हिंसालाई २०१४ यताकै सबैभन्दा खराब हिंसा मानिएको छ । पूर्वी जेरुसेलम, जुन मुसलमान र यहूदी दुवैको पवित्र स्थल हो, त्यहाँ इजरायली र प्यालेस्टाइनीबीच भएको झडपपछि बिउँझिएको द्वन्द्वले थुप्रैको ज्यान लिइसकेको छ । गाजामा शासन गरिरहेको उग्रवादी समूह हमासले इजरायललाई उक्त ठाउँबाट हट्ने चेतावनीपछि रकेट हमाला गरिरहेको छ र बदलामा इजरायलले पनि गाजामाथि प्रहार गरिरहेको छ । इजरायल र प्यालेस्टाइनीबीचको यो द्वन्द्व चर्किनुअघि नै टिकटकमा भने दुई देशबीच तनाव सुरु भइसकेको देखिन्छ । अप्रिलमा पूर्वी जेरुसेलमको एक सार्वजनिक यातायातमा युवा केटाहरुको झुण्डले दुई यहुदी केटाहरुलाई झापड हानेको भिडियो भाइरल भएको थियो । त्यसको एक हप्तापछि प्रहरीले दुई आरोपितलाई पक्राउ गर्यो । टिकटकले पनि उक्त भिडियोलाई ‘कम्युनिटि गाइडलाइन्स’ उल्लंघन गरेको आरोपमा हटाएको थियो । प्रर्दशनका भिडियोहरु टिकटकमा देखिन थालेका छन् । प्रयोगकर्ताहरुले टिकटकमा पूर्वि जेरुसेलमको छिमेकी क्षेत्रमा रहेका परिवारहरुलाई दिइएको धम्कीको सम्बन्धमा ह्यासट्याग सेभसैखजर्राह लेख्दै भिडियोहरु पोष्ट गरिरहेका छन् । यस्ता भिडियोहरु अहिले विश्वभर नै फैलिरहेका छन् । टिकटक बुमका लेखक क्रिस स्टोकली वाकरले बताएअनुसार टिकटकको प्रयोगमा सहजता र विशाल लोकप्रियताले यसको सामग्री अत्यधिक छिटो प्रसार भइरहेको बताउँछन् । ‘एपबाट भिडियो बनाउन यति सजिलो छ कि १२ वर्षदेखि ९० वर्षसम्मको जो सुकैले पनि प्राविधिक ज्ञान बिनै बनाउन सक्छन्, उनले भनेका छन्, ‘यसमा प्रयोगकर्ताको आकार पनि अत्यधिक छ । टिकटकमा मासिक रुपमा विश्वभरबाट ७३ करोड प्रयोगकर्ता सक्रिय भएका छन् । यस्तोमा तपाईले जे सुकै पोष्ट गर्दा पनि हेर्ने मान्छे धेरै हुने सम्भावना रहन्छ ।’ टिकटकसँगै फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले ह्यासट्याग सेभसैखजर्राहसँगै विध्वसंको भिडियो, इजरायली सुरक्षाकर्मिसँगको झडप र गाजाको अवस्थाको भिडियोहरु हालिरहेका छन् । उक्त ह्यासट्याग प्रयोग गरि पोष्ट गरिएको इजरायलको हमलाबाट बच्न भागिरहेका गाजाका मानिसहरुको दृश्य कैद भएको भिडियोलाई टिकटकमा हालसम्म ४ करोड ४० लाखभन्दा धेरै भ्युज मिलिसकेको छ । अर्कि प्रयोगकर्ता, सब्ब्रिना अबुखदेइरले पोष्ट गरेको गाजाको अग्लो पर्खाल भत्किएकाे र प्यालेस्टाइनका बालबालिका रोइरहेको भिडियोमा हालसम्म १ करोड ५० लाखभन्दा धेरै भ्युज आइसकेको छ । ‘तपाईहरुलाई थाहा छ के गर्नुपर्छ’, उनले भिडियो सेयर गर्न सम्झाउँदै क्याप्सनमा लेखेकी छिन् । प्यालेस्टाइनका नागरिकले जस्तै इजरायलका समर्थकहरुले पनि भिडियो पोष्ट गरेका छन् टिकटकमा । प्यालेस्टाइनी समर्थकले हानेको ढुंगाबाट महिलालाई बचाइरहेका इजारयलका सैनिक कैद भएको भनिएको एक भिडियोमा पनि एक करोडभन्दा धेरै भ्युज आएको छ । नागरिकजस्तै इजरायलको सुरक्षा फोर्स पनि इन्टरनेटमा सक्रिय छ । आइडिएफलाई टिकटकमा ७० हजारभन्दा धेरैले फलो गरेका छन् भने ट्विटरमा एक करोड ३ लाखभन्दा धेरै फलोअर्स छन् । आइडिएफले यी माध्यममा इजरायलको सुरक्षा फोर्सले गरिरहेको काम र इजरायलभित्रका दृश्यहरु पोष्ट गरिरहन्छ । आइडिएफले नै पोष्ट गरेको एक भिडियो, जसको क्याप्सनमा ‘यो शहर तपाईहरुको भए के गर्नुहुन्थ्यो?’ लेखिएको छ, त्यसमा ३ लाखभन्दा धेरै भ्युज आएको छ । इजरायलस्थित हफिया विश्वविद्यालयका प्राध्यापन डा. गेब्रियल वेमानले मुटु र मस्तिकको युद्ध अनलाइनमा भइरहेको र यो युद्धसरह नभएको बताएका छन् । ‘इजरायलको पक्षबाट एककिसिमको प्रहार भइरहेको छ, जुन मलाई लाग्छ कम शक्तिशाली, कम अनुयायी र अव्यववीसथत छ’, उनले भने, ‘टिकटकलाई यति शक्तिशाली हुन्छ भन्ने इजरायलमा कसैले नसोचेकाले पनि यस्तो भएको हो ।’ यहि महिना टिकटक र ट्विटरमा जेरुसेलमको अल अस्का मस्जिद परिसरमा रुख जलाइरहँदा नाँच्दै जयजयकार गरिरहेका यहुदीहरुको भिडियो भाइरल भएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसलाई मस्जिदको विनासमा उत्सव मनाइरहेको संज्ञा दिएका थिए । जबकी वास्तविकता अर्कै थियो । त्यहाँ उनीहरु जेरुसेलम डे बनाउन भेला भएका थिए र मस्जिद उनीहरुले बालेको आगोले विनास पनि भएको थिएन् । इजरायली प्रहरीका अनुसार मस्जिदको विनास प्यालेस्टाइनी प्रदर्शनकारीहरुले गरेका थिए । यता प्रर्दशनकारीहरुले भने मस्जिद प्रहरीले प्रयोग गरेको ग्रिनेडका कारण भएको बताएका छन् । गत बुधबार इजरायलका रक्षा मन्त्री बेन्नी गान्ट्सले फेसबुक र टिकटकलाई सम्बोधन गर्दै आफ्नो देश र प्यालेस्टाइनसँग जोडिएका भिडियो तथा पोष्टले हिंसात्मक बनाउने भन्दै तिनीहरुलाई हटाउन आग्रह गरेका थिए । ‘हाम्रो देशको बर्बादी चाहने कट्टपन्थी तत्वहरुले सामाजिक सञ्जालमार्फत फैलाइरहेको हिंसालाई रोक्ने हामीसँग प्रत्यक्ष उपायहरु छन्,’ उनले भनेका छन्, ‘हामी सामाजिक संकटकालको अवस्थामा छौं र हामी तपाईंहरुको साथ र सहयोगको अपेक्षा राख्दछौं ।’ इजरायलको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टिकटक र फेसबुक दुवैले यस्ता गतिविधिहरुलाई रोक्न प्रभाकारी कदम छिटोभन्दा छिटो चाल्ने बताएका छन् । टिकटकका एक प्रवक्ताले भने, ‘हाम्रो टिमले गलत सूचना, हिंसा जगाउने सुचना र अन्य सामग्री जसले हाम्रो कम्युनिटि गाइडलाइन्सलाई उल्लंघन गर्छ, त्यसलाई हटाउने काम गरिरहेका छौं ।’ इन्टरनेटमा प्रसारण हुने गलत सुचनासँग जुध्ने सञ्चारमाध्यम फस्ट ड्राफ्ट न्युसमा कार्यरत सायधानाय उर्बानीले अहिले भाइरल भइरहेका थुप्र्रै सामग्री पुरानो भएको बताएकी छिन् । उनले भनिन्, ‘हामीले अहिले देखेका थुप्रै कुराहरु पुराना कुराहरु हुन् । यो बिल्कु फरक समय र फरक ठाउँसँग जोडिएको कुरालाई अहिले प्रसारण गरिएको छ ।’ न्युयोर्क टायम्सका अनुसार यसको सबैभन्दा नजिकको उदाहरण प्यालेस्टाइनमा गरिएको सामूहिक अन्त्येष्टिको भिडियो हो ।उक्त भिडियोलाई टिकटकलाई लाखौं भ्युज मिलेको छ, जहाँ मानिसहरुले मृतकलाई काँधमा बोकेर हिडिरहेका छन् । तर, जब साइरन बज्छ, उनीहरु त्यो मृतकलाई भुईँमा छाडेर भाग्छन् र स्वयः मृतक पनि उठेर भाग्न थालेको देखिन्छ । न्युयोर्क टायम्सले भनेको छ, ‘यो भिडियो गत वर्षभन्दा पहिलेनै युट्युबमा ‘जोर्डियन परिवारको नक्कली अन्त्येष्टिको शिर्षकबाट राखिएको थियो । टिकटकले त्यसपछि यो भिडियोलाई कम्युनिटि गाइडलाइन्स उल्लंघन गरेको आरोपमा हटाएको छ ।’बिबिसीबाट ।