NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी जसपा असन्तुष्ट पक्ष र नेपाल पक्षका सांसदको हस्ताक्षर तयार हुँदै

काठमाडौं । सरकारमा बहुमत दावी गर्ने समय जम्मा दुई घण्टा जति मात्रै हुँदा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलपछि पुनः सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको हो । बिहानको छलफलमा विभिन्न विकल्पबारे दलहरुले संवाद गरेका थिए । एमालेका माधव नेपालले समेत वैकल्पिक सरकारका लागि आफ्नो योगदान हुने वचन दिएपछि अब कसरी अघि बढ्ने भन्नेमा दलहरु छलफलमा जुटेका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले आफूहरु फेरि तटस्थ बस्ने निर्णय गरेको छ । यस्तोमा माधव नेपाल पक्षको सांसदको राजीनामा वा बहुमत जुटाउन उनीहरुले हस्ताक्षर नगरेसम्म कुनै पनि संसद सदस्यले बहुमत जुटाउन नसक्ने देखिएको छ । बैठकमा एमालेबाट माधव नेपाल पनि सहभागी छन् । जसपाका महन्थ ठाकुर पक्षले तटस्थ बस्ने निर्णय गरेसँगै ६१ सिट भएको कांग्रेस, ४९ सिट भएको माओवादी, ३२ मध्ये १६ सिट भएको जसपाको बाबुराम र उपेन्द्र यादव पक्ष र माधव नेपाल पक्षका २७ सांसदसहित बहुमत सदस्यले सरकार गठनका लागि दाबी गर्ने तयारी स्वरुप छलफल गरिरहेका हुन् । प्रधानमन्त्रीमा कांग्रेसबाट शेरबहादुर देउवाकाे नाम प्रस्ताव गर्ने तयारी भएकाे छ । हस्ताक्षर जुटेपछि राष्ट्रपति कार्यालय जाने उनीहरूकाे तयारी छ । यसरी हस्ताक्षर गर्ने सांसदकाे संख्या १४९ पुग्ने दाबी गठबन्धन दलहरूले गरेका छन् । बहुमत पुगेकाे दाबीसहित आजै साँझ ५ बजेभित्रै राष्ट्रपति कार्यालय पुगिसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलनमा नेता माधव कुमार नेपालको भरोसा गुमाएको आशय व्यक्त गरेका थिए । उनको त्यस्तो आशयपछि पनि नेता नेपाल पक्ष कांग्रेस, माओवादीसँग वैकल्पिक सरकार गठनमा अघि बढ्न तयार देखिएको हो । माधव नेपाल बिहानको छलफलमा पनि सहभागी थिए । कांग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा पनि उनी सहभागी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष