चिनीकाे भाउ अचाक्ली बढ्याे, व्यापारी भन्छन्- अझै महँगिन्छ
चिनी उत्पादन कम भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार सहुलियतमा ३० हजार टन चिनी आयात गर्नका लागि अर्थ मन्त्रालयसमक्ष एक महिना अघि प्रस्ताव गरेको थियो । तर अर्थ मन्त्रालयले स्वीकृति नदिएको कारण समयमा ल्याउन नसक्दा बजारमा चिनीको अभाव भएर थप महंगो हुने अवस्था सिर्जना भएको छ । चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले यो वर्ष उत्पादन कम भएकाले बजारमा चिनीको मूल्य बढेको बताए । “यो वर्ष एक लाख १० हजार मेट्रिक टन मात्र चिनी उत्पादन भयो” उनले भने, “निषेधाज्ञाको कारण तस्करीबाट आयात हुने चिनी रोकिएपछि अभाव भई मूल्य बढ्न गएको हो ।” खुला सीमानाका कारण मुलुकमा ठूलो परिणाममा छिमेकी मुलुक भारतबाट तस्करीबाट चिनी आयात हुने गर्छ । प्रतिकेजी पाँच रुपैयाँ मूल्य बढ्दा पनि उद्योगलाई अझै घाटा रहेको उनको भनाइ छ । उद्योगीले प्रतिकेजी ५ रुपैयाँ मूल्य बढेको बताएपनि बजारमा भने १० रुपैयाँ बढेको छ । निषेधाज्ञा अघि प्रतिकेजी खुद्रा मूल्य ८५ रुपैयाँमा पाइने चिनी अहिले ९५ देखि एक सय रुपैयाँ पुगेको छ । सरकारले बजार मूल्य नियन्त्रण गर्नका लागि प्रत्येक वर्ष साल्ट ट्रेडिङ कर्पोरेशनलाई चिनी आयात गर्नका लागि अनुमति दिँदै आएको छ । तर, यो वर्ष समयमा आयात नहुँदा बजारमा चिनीको थप मूल्य बढ्नेछ भने साल्ट ट्रेडिङ कर्पोरशनसँग भएको मौज्दात चिनी सकिन लागेपछि बजारमा थप महंगो भएको छ । कर्पोरेशनसँग अहिले ६ सय टन मात्र चिनी मौज्दात रहेको छ । कर्पोरेशनमा चिनी सकिएसँगै बजारमा चिनीको मूल्य थप बढ्नेछ । चिनी उत्पादक संघका अनुसार, मुलुकमा चिनीको कूल उत्पादन क्षमता २ लाख ४० हजार मेट्रिक टन भएपनि गत वर्ष १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहेपछि गत वर्ष देखिनै चिनी उत्पादनमा कम आएको थियो । उद्योगीका अनुसार गत वर्ष नै ७० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । हरेक वर्ष मन्त्रालयले स्वदेशी चिनीे उत्पादनको अवस्था हेरेर आयात परिमाण निर्धारण गर्ने गरेको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले भन्सार सहुलियतमा चिनी आयात गर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेपनि अहिलेसम्म स्वीकृत नभएको बताइन् । “यो वर्ष चिनी उत्पादन घट्यो, पहिलेभन्दा ८० हजार टन कम उत्पादन भएको छ” उनले भनिन्, “हामीले स्वदेशी उत्पादन १ लाख ८० हजार टनको लक्ष्य राखेका थियौं, उखु खेती घट्दा चिनी लक्ष्यभन्दा कम उत्पादन भएको छ ।” साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीले सहुलियत भन्सारमा चिनी आयात गरेर बजारमा हुने अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न सकिन्छ । उत्पादन कम भएको भन्दै उद्योगीले चिनीमा अस्वभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको छ । यसैबीच, भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९ अर्ब १० करोड ५६ लाख ७९ हजार रुपैयाँको चिनी आयात भएको छ । काराेबार दैनिकमा खबर छ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया