NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ का ८ सय पत्रकारलाई स्वास्थ्य सामग्री

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहरका क्रममा प्रदेश २ का जिल्लाहरु अति प्रभावित रहेका छन् । संक्रमित र संक्रमणवाट मृत्यु हुनेको संख्या प्रदेश २ मा उच्च छ । कोरोना संक्रमणकै कारणले प्रदेश २ मा दुई जना पत्रकारको निधन भैसकेको छ । बढ्दो जोखिमलाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघ प्रदेश २ ले सुरक्षामा आवश्यक रहेको स्वास्थ्य सामग्री जुटाउन अगुवाई गरेका थिए । महासंघको प्रादेशिक समितिको पहलमा प्रदेश २ सरकारले आठै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जस अन्र्तगत सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर १ सय एमएलको दुई बोतल, ग्लभ्स २ पिस र फेस शिल्ड २ पिस पाउने ८ सय पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको महासंघ प्रदेश २ अध्यक्ष राजेश कर्णले बताए । यस्तै आठवटै जिल्लामा रहेका महासंघको शाखा कार्यालय र प्रादेशिक समितिलाई थर्मोगन ११ थान र अक्सिमिटर ११ थान प्राप्त हुनेगरी प्रादेशिक समितिलाई हस्तान्तरण गरेको अध्यक्ष कर्णले बताए । मृतक पत्रकार परिवारलाई राहत दिइने यस्तै प्रदेश २ मा कोरोना संक्रमणवाट मृत्यु भएका दुई जना पत्रकारका परिवारलाई राहत उपलब्ध हुनेछ । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले मृतक पत्रकारका परिवारलाई मन्त्रिपरिषदको वैठकबाट निर्णय गरी राहत प्रदान गरिने प्रतिबद्धता जनाए । ‘फ्रन्टलाईमा कार्यरत पत्रकारको सुरक्षाको दायित्व प्रदेश सरकार छ,’ मन्त्री यादवले भने,‘हस्तान्तरण गरिएको स्वास्थ्य समाग्री पर्याप्त छैन । अगामी दिनमा अझ सहयोग हुन्छ ।’ स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव समेत सहभागी भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष