NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काेराेना महामारीमै नागरिकता बाँड्न गृहकार्य, चुनाव अघि नै वितरण हुने

सरकारले जन्मसिद्ध नागरिकता प्राप्त करिब २ लाख आमा–बाबुका सन्तानलाई छरितो प्रक्रिया (फास्ट ट्र्याक) बाट वंशजका आधारमा नागरिकता वितरण गर्ने भएको छ । कोरोना महामारीकै बीच गृह मन्त्रालयले आगामी निर्वाचनअगावै नागरिकता वितरण गरिसक्ने गरी आन्तरिक गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयका अनुसार २०६३ देखि २०७२ असोज ३ गतेसम्ममा जन्मसिद्ध नागरिकता लिएकाको संख्या १ लाख ९० हजार ७ सय २६ छ। जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका करिब ६ लाख सन्तान वालिग भइसकेको जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए । गृह मन्त्रालयले भने त्यस्ता व्यक्तिको संख्या यकिन नभएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले अध्यादेशका प्रावधानअनुसार नागरिकता नियमावली छिट्टै संशोधन गरेर नागरिकता वितरणको बाटो खोलिने बताए । कोरोना महामारीविरुद्ध जारी गरिएका प्रतिकार्य योजनाअन्तर्गत अहिले ७४ जिल्लामा निषेधाज्ञा छ । जिल्ला प्रशासन कार्यालयहरूबाट अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिएका छन् । गृहले महामारीका बीच प्रशासन कार्यालयबाट नागरिकता जारी गर्दा भीडभाड लाग्ने कारण देखाएर टोली खटाएर वितरण गर्ने विकल्पमा पनि छलफल थालेको छ । महामारीकै बीच नागरिकता वितरण गर्न किन हतारो लागेको भन्ने प्रश्नमा गृह मन्त्रालयका एक अधिकारी ‘माथिको आदेश त्यस्तै छ’ भन्दै पन्छिए । गृह मन्त्रालयमा मात्रै नेपाली आमाका नामबाट नागरिकता माग्दै १ सय १५ वटा निवेदन आएका छन् । कानुन अभाव देखाएर त्यसलाई अघि नबढाइएको मन्त्रालयले जनाएको छ । जन्मसिद्ध नागरिकतावालाका सन्तानलाई पनि कानुन अभाव देखाउँदै नागरिकता दिइएको छैन । कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष