NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वामदेव अब कता ?

काठमाडाैं । नेकपा (एमाले) औपचारिक रुपमा विभाजन हुने भएपछि उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानको संयोजक रहेका वामदेव गौतम कता लाग्लान ? निकै कुतूहलताको विषय बनेको छ । गौतमले पार्टी मिलाएरै छाड्ने भन्दै एकता राष्ट्रिय अभियान गठन गरेका थिए । तर, उनको त्यो अभिष्टमा तातोपानी खनिएको छ । योसँगै अब गौतम कता खुल्लान ? जिज्ञासा जागेको हो । अस्ति २७ बैशाख– जुन दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसदमा विस्वासको मत लिँदै थिए, त्यही दिन दिउँसो ११ बजेतिर सरकारी निवास बालुवाटारमा बोलाएर उनले उपाध्यक्ष गौतमलाई भेटेका थिए । त्यसपछि ओली र गौतमको भेटघाट भएको छैन । २७ बैशाखको भेटपछि प्रेस सहयोगी विश्वमणी सुवेदीको फेसबुकमार्फत दिउँसो १२.५१ मा गौतमले आफ्ना भनाइ सार्वजनिक गरेका थिए । जहाँ उल्लेख थियो, ‘नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ । १. अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो । २. क.माधव नेपालहरुका सन्दर्भमा वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’ रोचक के छ भने पार्टी गुटको असर गौतमको परिवारमा स्पष्टै देखिएको छ । गौतम पत्नी तुलसा, छोरो हरिश र सालो डम्वर थापा मगर केपी ओली गुटमा छन् । ओलीले गौतम पत्नी तुलसालाई २८ फागुनमा गठन गरेको महाधिवेशन आयोजक कमिटीको जम्बो केन्द्रीय समितिमा राखेका थिए । मध्यरातमा प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको र त्यसले देशलाई संविधानविहिनतातिर धकेलेको निश्कर्षका साथ वामदेव गौतम नेपाल–खनाल समूहमा लाग्ने उनका प्रेस सहयोग विश्वमणि सुवेदीको दाबी । तर, अस्ति १० बैशाखमा त्यसलाई सच्याउँदै त्यसबेलाका जम्बो आयोजक समिति सदस्यहरुलाई राष्ट्रिय परिषद सदस्य बनाएका थिए । गौतमका एक मात्र छोरा हरिश ओली समूहको बर्दिया जिल्ला कमिटी सदस्य मनोनित छन् भने सालो बाँके जिल्ला कमिटी सदस्य छन् । गौतमको ‘किचेन क्याविनेट’ का सदस्यहरु बलराम बास्कोटा, सावित्री भुसाल, केशवलाल श्रेष्ठ, हरी पराजुली, ताज मियाँ, डिबी कार्की, विश्वमणी सुवेदी, दीपक टमाटा, गणेश ठगुन्ना, भुपेन्द्र थापा, लालबहादुर थापालगायत विभाजित छन् । बाँस्कोटा र भुसाल दम्पती हुन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको सामिप्यतामा हुर्केका बाँस्कोटा र उनकी पत्नी भुसालले निकै लामो समयदेखि गौतमलाई साथ दिँदै आएका थिए । पछिल्ला दिनमा उनीहरु नेपाल–खनाल समूहमा खुलेका छन् । भुसाल केन्द्रीय सदस्य र पूर्वसांसद हुन् । केशवलाल श्रेष्ठ ०५४ मा एमाले विभाजनमा गौतमलाई साथ दिनेमध्येका अगुवा मानिन्छन् । १० बैशाखमा ओलीले कार्य विभाजन गरेर जिम्मेवारी दिँदा श्रेष्ठलाई मनवअधिकार एलायन्स तथा सम्वद्ध संगठनहरुको इन्चार्ज तोकेका थिए । जब कि त्यो कार्य विभाजनमा ओलीले नेपाल–खनाल समूहका कसैलाई पनि जिम्मेवारी दिएका थिएनन् । पूर्वकृषि मन्त्री पराजुली, पूर्वसांसद एवं भ्रष्टाचार आरोपमा अदालतबाट दोषी ठहर भएका कार्की, मियाँ, गौतमका प्रेस सहयोगी सुवेदी र स्वकीय सचिव टमाटा नेपाल–खनाल समूहमा खुलेका छन् । गौतमका अर्का भित्रिया गणेश ठगुन्नालाई भने ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि १० पुसमा विस्तार गरिएको मन्त्रिपरिषद्मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गरेका थिए । ठगुन्ना ०७४ को निर्वाचनमा गौतकको कोटामा टिकट पाएर प्रतिनिधि सभामा दार्चुला–१ बाट निर्वाचित भएका थिए । त्यसैगरी गौतमकै कोटाबाट टिकट पाएर म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित भुपेन्द्र थापा ओली समूहमा खुलेका छन् । गौतम पक्षबाट एमाले केन्द्रीय सदस्य निर्वाचित एवं सुदूरपश्चिम प्रदेशमा बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाशबहादुर शाह पछिल्ला दिनमा ओली समूहमा पुगेका छन् । अस्ति १० बैशाखको जिम्मेवारी बाँडफाँडमा ओलीले उनलाई कुनै जिम्मेवारी दिएका थिएनन् । उपाध्यक्ष गौतमका प्रेस सहयोगी सुवेदी विभाजनमा जाँदा उहाँ (गौतम) ले नेपाल–खनाल समूहलाई नै साथ दिने बताउँछन् । ‘केपी ओलीसँगको भेटपछि विभाजन हुँदा म नेपाल–खनाल समूहलाई नै साथ दिन्छु भनेर भनिसक्नु भएको छ त । उहाँ त्यो अडानबाट दायाँबायाँ हुनु भएको छैन’, सुवेदी भन्छन्, ‘गौतमले आफ्नो धारणा आज, भोलि नै सार्वजनिक गर्नु हुनेछ ।’ मध्य रातमा प्रतिनिधि सभाको विघटन असंवैधानिक भएको र त्यसले देशलाई संविधानविहिनतातिर धकेलेको निश्कर्षमा गौतम पुगेका सुवेदीको भनाइ छ । थप्छन्, ‘गौतम प्रतिनिधि सभा विघटनको पक्षमा लाग्नु हु्न्न ।’ कुनै समय गौतम निकट रहेका केशवला श्रेष्ठ र प्रकाशबहादुर शाहले भने फोन उठाएनन् ।

ताजा अपडेट

नेपालवाच विशेष