NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

छाक कटाएर हिंसा पीडित महिला र विपन्नलाई सहायता

नेपालगन्ज । कोरोना कहरले आर्थिक विपन्नहरुलाई यतिबेला दुई छाक टार्न पनि मुस्किल भएको छ । दैनिक ज्यालादारी श्रमिकहरु त सबैभन्दा बढी प्रभावित छन् । सबैतिर निषेधाज्ञा भएपछि उनीहरुको गरिखाने बाटो नै बन्द भएको छ । घरभित्रै थुनिँदा यस्ता विपन्न श्रमिकलाई परिवारका लागि छाक टार्नै धौ–धौ भएको छ । यस्तो अवस्थामा विपन्न परिवार, हिंसा पीडित महिला र सन्तानविहीन ज्येष्ठ नागरिकहरु भोकै बस्नु नपरोस भन्दै सामाजिक अभियान्ताहरुले सकेको सहयोग गर्दै आएका छन् । नेपालगन्ज सबैभन्दा कोरोनाले बढी प्रभावित क्षेत्र हो । जहाँ दैनिक सैयौंको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन् भने दर्जन बढीको कोरोनाबाटै मृत्यु हुने गरेको छ । जसकारण नेपालगन्जसहित बाँके जिल्ला पूरै निषेधाज्ञामा छ । यस्तो बेला दैनिक दुई छाक टार्न पनि मुस्किल हुने विपन्न परिवारका लागि सामाजिक अभियान्ताहरुले आफनो छाक कटाएर खाद्यान्न सहयोग गर्न थालेका छन् । ‘अभियान नेपाल’ मा आवद्ध अभियान्ताहरुले निषेधाज्ञाका समयमा समस्यामा परेका हिंसा पीडित महिला, अभिभावकविहीन बालबालिका र सहाराविहीन ज्येष्ठ नागरिकहरुलाई राहत वितरण गर्न थालेका छन् । अभियान नेपालकी अध्यक्ष कमला पन्तको नेतृत्वमा यस्ता विपन्न परिवारलाई अत्यावश्यक सामग्रीसहित खाद्यान्न वितरण गर्न थालिएको छ । उनीहरुले केही हुनेखानेहरुबाट राहत रकम माग गरेर विपन्न परिवारको छाक टार्ने काम गरिरहेका छन् । लामो समयदेखिकाो निषेधाज्ञाका कारण विपन्न परिवारमा खाद्यान्न संटक हुन थालेपछि आफू्हरुले अभियानमार्फत राहत वितरण गर्न थालेको अध्यक्ष पन्तले बताइन् । अभियानमार्फत प्रतिपरिवारलाई २५ किलो चामल, पाँच किलो पिठो, दुई किलो दाल, एक लिटर तेल र डेढ किलो सोयाबिन प्रधान गर्न थालिएको पन्तले बताइन् । यस्तै, नुहाउने, कपडा धुने साबुन, एक पाउ रातो खुर्सानी, बेसार, चिनी, चियापत्ती, स्यानेटरी प्याड, सर्जिकल मास्क लगायत अत्यावश्यक सामग्री पनि वितरण गर्न थालिएको छ । ‘हामी त केही भए पनि घरभित्रै बसेर पनि दुई छाक खाइरहेका छौं । जसले एक छाक पनि राम्रोसँग टार्न सक्दैनन् उनीहरुका लागि यो निषेधाज्ञाले झनै सकस बनाएको छ,’ उनले भनिन्, ‘हाम्रो अभियानमा आवद्ध सदस्यहरुले आफ्नो एक छाक कटाएर पनि यस्ता परिवारका लागि सहयोग गर्नुभएको छ । त्यसैले हामीले राहत वितरण गरिरहेका छौं ।’ सहयोग धेरै ठूलो नभए पनि निषेधाज्ञाको प्रभावबाट समस्यामा परेकाहरुलाई यसले केही राहत भने दिने अध्यक्ष पन्तको भनाइ छ । पन्तका अनुसार राहत प्राप्त गर्ने प्रतिव्यक्तिलाई दुई हजार पाँचसय रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ । अभियान अन्तर्गत हालसम्म डेढसय भन्दा बढीलाई खाद्यान्नसहित दैनिक अत्यावश्यक सामग्रीहरु प्रदान गरिएको अभियानले जनाएको छ । राहत प्राप्त गर्नेमा २१ जना हिंसा पीडित महिला छन् । नेपालगन्ज–१९ का १३ जना मुक्त कम्लहरी, कोहलपुरका ३० अभिभावकविहीन बालबालिका र सहारा नभएका २० जना ज्येष्ठ नागरिकलाई राहत दिइएको हो । पन्तका अनुसार ३० जना रामलीला मैदानका मजदुरलाई पनि खाद्यान्नसहितको राहत प्रदान गरिएको छ । हिजो मात्रै कोलहपुरमा १६ जना शारिरीक असक्तता भएका बालबालिका र तीनका परिवारलाई राहत दिइएको छ । सहयोगीहरुले आर्थिक सहायता दिने वचन दिएकाले यो राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पन्तको भनाइ छ । राहत पाउनेहरुमा हिंसा पीडित महिला, असहाय बालबालिका र सहाविहीन ज्येष्ठ नागरिक रहेका छन् । अबको अभियानमा अति विपन्न परिवारलाई पनि राहत उपलब्ध गराइने उनले बताइन् ।

ताजा अपडेट

नेपालवाच विशेष