NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सरकारले वेवास्ता गरेपछि व्यक्तिगत अगुवाईमा संक्रमितलाई निःशुल्क भोजन

जनकपुरधाम । सिरहा नगरपालिका–४ का एक कोरोना संक्रमितको उपचार जिल्ला अस्पताल सिरहाको कोभिड वार्डमा हुँदैथ्यो । उपचार हुँदा संक्रमित भएकालाई खानेकुराको बन्दोबस्ती परिवारजनले नै गर्नुपर्ने बाध्यता थियो । घरबाट खानेकुरा लिएर अस्पताल आउनु परेको संक्रमितको बुबाले दुखेसो सुनाए । श्वास लिन समस्या भएपछि सदरमुकामदेखि ३० किलोमीटरको दूरीबाट आमालाई लिएर जिल्ला अस्पताल आएका थिए, मिर्चैया नगरपालिका २ मल्हनीया पिरारीका रामनारायण ठाकुर । आकस्मिक कक्षमा भर्ना गरेर आमाको उपचार सुरु भए पनि निषेधाज्ञाले होटलहरु बन्द हुँदा खानेकुराको समस्या भएको सुनाए । आफू र दिदी र आमाको लागि जाउलो नपाएपछि चाउचाउ र बिस्कुट खाएर रात बिताएको ठाकुरको अनुभव छ । खासमा जिल्ला अस्पतालमा कोरोना संक्रमित उपचार गरिन्छ । जिल्लाभरीबाट उपचारमा आउनेहरुको अस्पतालमा संख्या बढी छ । अस्पतालले संक्रमितलाई चिकित्सकीय सुविधा मात्र दिँदै आएको छ । खाना, पानी, औषधि सबै आफैं किनेर ल्याउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्ट (मेसु) डा. नागेन्द्र प्रसाद यादवको भनाइ छ । प्रदेश सरकारले निःशुल्क भोजन गराउन कुनै रकम नपठाएपछि बन्दोबस्ती गर्न नसकिएको मेसु यादवले बताए । ‘प्रदेश र स्थानीय सरकार दुवै मौन छ,’ मेसु यादवले भने, ‘अस्पतालसँग बजेट छैन । खानेकुरा दिन सक्ने अवस्था भएन ।’ व्यक्तिगत अगुवाईमा निःशुल्क भोजन कोरोना संक्रमित र कुरुवालाई खानाको समस्यालाई समाधान गर्न स्थानीय समाजसेवीले अग्रसरता लिएका छन् । जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित, कुरुवा र अन्य रोगको उपचार गराई रहेकालाई लक्षित गरी निःशुल्क भोजन सुरु गरिएको छ । सिरहा नगरपालिका–१७ माडरका सन्तोष अग्रवालले निषेधाज्ञा अवधिभर बिहान–बेलुका दुई छाक निःशुल्क रुपमा खाना खुवाउने जिम्मा लिएको बताए । कोभिड सुरक्षालाई पूर्ण रुपमा ध्यानमा राख्दै पौष्टिक खानेकुरा वितरण सुरु गरेको अग्रवालले बताए । अहिले ४० जनालाई खाना वितरण सुरु गरिएको भन्दै अग्रवालले बिरामीको संख्या थपघट अनुसार नियमित रुपमा पौष्टिक आहारसहितको खानेकुरा प्रदान गरिने जनाए । समाजसेवी पृष्ठभूमिका अग्रवाल जिल्लामा विपद्का बेला औषधि, खाद्यन्न लगायतका अति आवश्यक सामग्री वितरण गर्दै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष