NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, आक्रमण गर्ने समूहलाई कारबाहीको माग

काठमाडौं । भेरी अस्पतालका स्वास्थ्य कर्मीहरु आन्दोलित भएका छन् । बिहीबार राति चिकित्सकमाथि गरिएको आक्रमणमा संलग्न समूहमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । चिकित्सकहरुको प्रदर्शनका कारण अस्पतालमा कोभिडका नयाँ बिरामीहरु भर्ना हुन सकेका छैनन् । अस्पतालमा उपचाररत बिरामीलाई भने सीमित चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालका कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले बताए । बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भर्नामा भने अवरोध गर्ने बताए । सूरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने उनले बताए । यस्तै, नेपाल चिकित्सक संघले पनि दोषीमाथि कारबाहीको माग गरेको छ । विभिन्न दलका नेताहरुले पनि विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन् । शुक्रबार बिहानै कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर कोभिडको यस्तो कहरमा पनि आफ्नो ज्यानमा परवाह नगर्दै उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गरेका छन् । ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भनेका छन् । यस्तै प्रचण्डले पनि डाक्टर र नर्समाथि कुटपिटजस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ आज प्रचण्डले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’ घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए । उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष