NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सर्वाधिक उचाईमा स्ट्याण्ड अप कमेडी गरेर दुई नेपालीले राखे विश्व कीर्तिमान

काठमाडौ । नेपग्याजमका स्ट्याण्ड–अप कमेडी कलाकार लेखमणि त्रिताल उर्फ (रमेश अंकलको छोरो) र उमेश कुमार गौतम (युकेजी)ले संसारकै ठूलो उचाईमा स्ट्याण्ड अप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । सर्वाधिक उचाईको स्ट्याण्ड–अप कमेडी शो को विश्व कीर्तिमान तोड्नका लागि गत बैशाख २० गते सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी नेपग्याजमको प्राविधिक टोली कालापत्थरतर्फ प्रस्थान गरेको थियो । टोलीमा विश्व कीर्तिमान कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष कुमार देवकोटा, निर्देशक ज्ञानेन्द्र मिश्र, निर्माता आशिष शाही, छायाँकार आशु बस्नेत, अल्टिच्यूड तथा ट्राभल एक्सपर्ट दिपक थापा, कलाकारद्वय लेखमणि त्रिताल तथा उमेश कुमार गौतमको सहभागिता रहेको थियो । यसअघि इटालीका हास्य कलाकार तथा रेडियोकर्मी पाउलो फ्रान्सेस्चिनीले सन् २०१९ अप्रिल २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आधारशिविरको ५ हजार २७० मिटरको उचाईमा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका थिए । बिहीबार गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो आधिकारीक वेबसाइट मार्फत इटालियन कलाकार पाउलोले राखेको विश्व कीर्तिमानको रेकर्ड तोड्दै नेपालका कलाकारद्वय लेखमणि त्रिताल तथा उमेशकुमार गौतमद्वारा नेपालको कालापत्थरमा ५ हजार ३०२ मिटरको उचाईमा स्ट्याण्ड अप गर्दै नयाँ कीर्तिमान कायम गरेको आधिकारिक सामग्री सार्वजनिक गरेको थियो । विश्व कीर्तिमान तोडेपछि संचारकर्मी तथा नेपग्याजमका संस्थापक सन्तोष देवकोटाले भने, ‘यस उपलब्धीले नेपाली हास्यव्यंग्य क्षेत्रलाई अतिरिक्त ऊर्जा थपेको महशुस गरेका छौं । नेपाली हास्यव्यंग्यलाई विश्वभरका हास्यप्रेमीहरुले खोज्नेछन्, हेर्नेछन् ।’ नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्र मिश्रले पनि यो सफलताको श्रेय नेपाली हास्यक्षेत्रमा खटिने अग्रज तगा नयाँ कलाकारहरुलाई दिए । देश, समाज, राजनीति र खुशीको तथा आँशुको कुरा हास्यविधामार्फत उनीहरूले निरन्तर बोेलेकोमा उनले आभार व्यक्त गरे । ‘हसाउँदै बेथिती तथा भ्रष्टाचारविरुद्ध लड्ने ति तमाम हास्य कलाकारहरुप्रति यो विश्व कीर्तिमान हामी समर्पण गर्न चाहन्छौं’, उनले भने । अर्का संस्थापक निर्देशक शरद श्रेष्ठले पनि यो उपलब्धीले आफूहरू अझै हौसिएको बताए । ‘यो उपलब्धीले हामी हौसिएका छौं, नेपाली स्ट्याण्ड–अप कमेडीलाई विश्व बजारमा चिनाउने यो एउटा उत्तम समय हो,’ उनले भने, ‘स्वास्थ्य संकटको यस विषम परिस्थितिमा घरमा पारिवारिक समय बिताइरहनुभएका हाम्रा आदरणीय दर्शकहरुप्रति हामी यो समर्पण गर्दछौं ।’

ताजा अपडेट

नेपालवाच विशेष