NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रदेश २ : आगो निभाउन ९ वटा दमकल खरिद

जनकपुरधाम । प्रदेश २ सरकारले ९ वटा वारुणयन्त्र (दमकल) खरिद गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आगो निभाउनमा प्रयोग गर्न ९ वटा दमकल खरिद गरेको हो । कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले खरिद गरिएका एउटा दमकलको मूल्य करिब ५३ लाख रुपैयाँ परेको बताए । चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेट अन्तर्गत विपद् व्यवस्थापनको निम्ति करिब साढे ४ करोड खर्च गरी दमकल खरिद गरिएको प्रवक्ता कुशवाहाले बताए । खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराउने मन्त्रालयको तयारी छ । ‘प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई १÷१ वटाका दमकल उपलब्ध गराउन मन्त्रालयले तयारी गरेको छ,’ प्रवक्ता कुशवाहाले भने, ‘आठवटा जिल्लालाई र एउटा प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई उपलब्ध गराउँछौं ।’ प्रदेश २ को आन्तरीक मामिला तथा कानून मन्त्रालयले खरिद गरेका दमकल ठेकेदारले अस्थायी राजधानी जनकपुरधाम स्थित मन्त्रालयमा सप्लाई गरिसकेको छ । यता मन्त्रालयले दकमल खरिद गरेको फोटोहरु समाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रदेश सरकारको तिव्र आलोचना भइरहेको छ । कोरोनाको दोस्रो लहरको बेला औषधी, स्वास्थ्य उपकरण खरिद र व्यवस्थापनमा जोड दिनुपर्नेमा दमकल खरिद गरेको भन्दै आलोचना भइरहेको छ । ५ वटा बस सञ्चालनमा आएन प्रदेश २ सरकारले यसअघि ५ वटा बस खरिद गरेको छ । बस खरिद गरेको आठ महिना पुगेको छ । तर, अझैं संचालनमा आएको छैन । प्रदेशको अस्थायी राजधानी जनकपुरधामलाई जोड्नेगरी बसको रुट पनि तयारी गरिए पनि बस सञ्चालनमा आएका छैनन् । राजविराज–जनकपुरधाम, विरगंज–जनकपुरधाम, विरगंज–राजविराज गरी बसहरुको रुट यस अघि नै निर्धारण गरिसकिएको छ ।