NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

डाक्टरमाथि आक्रमण गर्ने एमाले नेता रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा, ५ दिन थुनामा राखेर अनुसन्धान

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावतलाई ज्यान मार्ने उद्योगको मुद्दा लागेको छ । एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका रावतमाथि डाक्टर र स्वास्थ्य कर्मीलाई कुटपिट गरेको आरोपमा ज्यान मार्ने उद्योगसहित २ वटा मुद्दा दर्ता भएको हो । जिल्ला अदालत बाँकेमा उनीविरुद्ध ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी २ मुद्दा लगाइएको जानकारी बाँके प्रहरी प्रमुख ओम रानाले दिए । कोरोनाबाट संक्रमितको मृत्यु भएपछि रावतसहितकाले अस्पतालको आइसियुसम्म प्रवेश गरी डाक्टर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए । जिल्ला अदालतले बाँकेले आरोपीलाई ५ दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ । उपचारका क्रममा कोरोनाबाट संक्रमित दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आक्रोशित समूह अस्पतालमा आक्रमण र तोडफोडमा उत्रिएको हो । मृतक रावत मानबहादुरका दाइ हुन् । बिहीबार राति ८ बजे रावतको मृत्यु भएलगत्तै सो समूह आक्रमणमा उत्रिंदा अस्पतालमा भागाभाग मच्चिएको थियो । आक्रमण साम्य नभएपछि अस्पताल प्रशासनले प्रहरीलाई बोलानुपरेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरेको जनाएको छ । यसरी पक्राउ परेका मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत हुन्।