NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

करिब एक करोड खोप खरिद गर्ने तयारी

काठमाडौं । सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०/५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए । उनले खोप खरिदका लागि चीन, अमेरिका, रुस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरेको बताए। उनका अनुसार सरकारले चीनको सिनोफर्म, अमेरिकाको जोन्सन एण्ड जोन्सन, रुसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारसँग पत्राचार गरिसकेको छ । सरकार ती मुलुकमध्ये चीन र अमेरिकाबाट खोप ल्याउन केन्द्रीत रहेको उनको भनाइ छ । उनले सन् २०२१ भित्र लक्षित समूहलाई खोप लगाउने सरकारको योजना रहेको बताए । सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ । उनले खोप खरिदका लागि अर्थ मन्त्रालयले रु ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले खोप जतिसक्दो चाँडो खरिद गर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भारतबाट समयमा नै सरकारले खरिद गरेको १० लाख खोप नआएकाले अहिले दोस्रो मात्रा लगाउन नपाइएको बताए । पहिलो मात्रा ‘कोभिशिल्ड’ लगाएका साढे १४ लाखले खोप अभावले अहिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतको सिरम इन्सिच्युटले सरकारले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध नगराएपछि दोस्रो मात्राको खोप रोकिएको छ । भारतसँग पनि उच्च तहमा वार्ताउनले भारतबाट ‘कोभिशिल्ड’ ल्याउनका लागि नेपालले उच्चतहमा छलफल गरिरहेको जानकारी दिए । ‘केही दिन अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपतिलाई हामीले पैसा भुक्तान गरिसकेको १० लाख खोपको मात्रा र थप सात लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गर्नका लागि आग्रह गर्नुभएको छ’, उनले भने, ‘खोप उपलब्ध गराउन भारतलाई प्रधानमन्त्री र मेरो तहबाट पनि आग्रह गरेका छौँ । नेपालका लागि भारतका राजदूत र भारतस्थित नेपालका राजदूतसँग पनि कुराकानी भइरहेको छ । हामीले औपचारिक/अनौपचारिक रूपमा भारतसँग कुरा गरिरहेका छौँ ।’ मन्त्री ज्ञवालीले नेपालमा खोप आयात गर्नका लागि भारतीय अदालतले पनि मानवीय संवेदनशीलतालाई बुझेर आफूले गरेको आदेशमा पुनःविचार गर्ने विश्वास व्यक्त गरे। भारतको अदालतले भारतका जनतालाई लगाइसकेपछि मात्र बाहिरी मुलुकमा खोप निर्यात गर्न आदेश दिएको छ । उनले भारतबाट खोप नआएका खण्डमा कोभिशिल्डसँग मिल्दोजुल्दो खोप खरिद गर्न पनि सरकार तयारी अवस्थामा रहेको जानकारी दिए । एस्ट्राजेनिका उत्पादन हुने मुलुकसँग खोप ल्याउने पहल भइरहेको उनको भनाई छ। परराष्ट्रमन्त्री ज्ञवालीले बेलायती विदेशमन्त्रीसँग केही दिन अघिमात्र नेपालमा खोपको अभावलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएको जानकारी दिए । उनले अमेरिकाले खरिदका लागि सम्झौता गरेको (बुक) एस्ट्राजेनिका नेपालमा ल्याउनेबारे अमेरिकी विदेश उपमन्त्री छलफल भइरहेको बताए । ‘अहिले अमेरिकासँग छ करोड मात्रा एस्ट्राजेनिका खोप बुक र मौज्दात रहेको छ । अमेरिकाले अरु खोप लगाइरहेकाले एस्ट्राजेनिका लगाएको छैन’, उनले भने, ‘त्यहाँ प्रयोग नहुने तर हामी त्यसै खोप नपाएर छटपटिने अवस्था अन्त्य गर्नका लागि नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई एस्ट्राजेनिका उपलब्ध गराइदिनुहोस् भनेका छौँ ।’ यद्यपि उनले नेपाललाई एस्ट्राजेनिका खोप उपलब्ध गराउनका लागि अमेरिकाको प्रक्रिया लामो हुने भएकोले केही समय लाग्ने बताए । उनले खोपको असमान वितरण भएकाले नेपालले समयमा खोप खरिद गर्न नपाएको बताए । ‘९५ प्रतिशत खोप १५ देशमा सीमित छ । बाँकी १६० देशले पाँच प्रतिशत खोप आफ्ना नागरिकलाई लगारहेका छन’, उनले भने, ‘हामीजस्ता विकासशील देशलाई खोपको समस्या परेको छ । त्यसैले खोपको नीतिमा परिवर्तन गरेर समान वितरण गर्नु जरुरी छ ।’ उनले खोपको न्यायोचित वितरण गर्नका लागि संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनमा पहल गरिरहेको जानकारी दिए । खोपको न्यायोचित वितरण नहुँदा खरिद गर्न समस्या परेको उनको भनाइ थियो । कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिकाकार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा एस्ट्राजेनिका लगाइने जानकारी दिए । ‘पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप लगाउने हाम्रो प्रयास हुनेछ’, उनले भने, ‘यही कोभिशिल्ड पाइएन भने कोभिशिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनिका खोप लगाउँछौँ ।’ उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए ।