NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एकातिर गणतन्त्र र संविधानमाथि संकट, अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको दिवसको अवसरमा शुभकामना सन्देश दिंदै गणतन्त्र र संविधानमाथि संकट आएको बताएका छन् । जनताका प्रतिनिधिमार्फत संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र बलिदानीको प्रतिफल भएको उनको भनाई छ । ‘नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो ।’ सापकोटाले सन्देशमा भनेका छन्, ‘यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’ गणतन्त्रलाई संस्थागत गर्नु र संविधानको कार्यान्वयन गराउनु राज्यको पहिलो कर्तव्य भएको उनको भनाई छ । ‘नेपाल आमाका हज्जारौं होनहार छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य हो ।’ उनले भनेका छन् । पछिल्लो राजनीतिक संकटतर्फ संकेत गर्दै सापकोटाले एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिडको महामारीबाट जनता आक्रान्त भएको उनको भनाई छ । ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ ।’ उनले भनेका छन्, ‘यस अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस्, सम्पूर्ण नेपालीहरुमा १४ औं गणतन्त्र दिवसको हार्दिक बधाई एवं शुुभकामना !’