NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

डा.अरुणा उप्रेतीसँग महिनावारीका कुराः ‘मेन्सुरल कप’लाई बहिस्कार गरौं

काठमाडौं । आज २८ मे अर्थात विश्व महिनावारी दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक बर्ष आजको दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिनावारीसम्वन्धी जनचेतना प्रवाह गर्ने उदेश्यले दिवस मनाउन थालिएको हो । महिनावारी महिलाको शरीरमा हुने नियमित प्रक्रिया हो । जन्मदेखि नै महिलाको डिम्बाशयमा हजारौं अण्डाहरु हुन्छन् । हरेक महिना एउटा अण्डा परिपक्व हुन्छ र डिम्वाशयलाई छोड्छ । यसलाई ओभुलेसन भनिन्छ । परिपक्क अण्डा विस्तारै डिम्वबाहिनी नलीहुँदै पाठेघरमा आउन थाल्छन् । त्यही समय अण्डा बस्नका लागि पाठेघरमा बाक्लो रगतका पत्रहरु बनिरहेका हुन्छन् । केही दिनपछि यी पत्रहरु भत्किन थाल्छन् । पत्रहरु अण्डासँगै बाहिर निस्कन्छन् । यसलाई नै महिनावारी भनिन्छ । तर अझै पनि महिनावारीलाई लाजको विषय बनाइन्छ । दिवसको सन्दर्भ पारेर स्त्री रोग विशेषज्ञ तथा जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीसँग नेपालवाचले महिनावारीसम्वन्धी समाजको चेतनास्तर कहाँ छ लगायत विषयमा कुराकानी गरेको छ । तपाईंले महिला स्वास्थ्यमा वर्षौंदेखि काम गर्दै आउनुभएको छ, काम गर्दाका सुरुवाती दिन र अहिले महिनावारीबारे मानिसहरूमा चेतनाको स्तर कत्तिको परिवर्तित देख्नुहुन्छ ? ४८ वर्ष अघि म १२ वर्षकी हुँदा महिनावारी भएँ । त्योबेलामा मैले एक प्रकारको क्रान्ति नै गरें । म महिनावारी भएको भोलिपल्टदेखि दशैं थियो । दशैंजस्तो चाडमा १२ दिनसम्म कोठामा थुनिएर बस्नुपर्छ भनेर मैले कसैलाई पनि भनिनँ । महिनावारी भएको तीन वर्षसम्म मैले कसैलाई भनिनँ । आफ्नै तरिकाले मिलाउँदै गएँ । सुरुसुरुमा त पाप लाग्ने या भगवानले सजाय पो दिने हुन् कि भन्ने डर पनि लाग्यो । समय बित्दै गएपछि यो डर पनि हरायो । तर, मैले यसो गरें भन्नेबारे खुलेर कुरा गर्ने साहस म ४० वर्ष पुगेपछिमात्रै आयो । पहिला सुदूरपश्चिमतिर जाँदा त्यहाँका अधिकांश महिलाले भित्री वस्त्र समेत लगाउदैनथे । उनीहरूलाई महिनावारीमा त्यतिबेला प्रयोग गर्न सकिने कपडाको टालोबारे समेत ज्ञान थिएन । अहिले त सुदूरपश्चिमका अधिकांशले प्याड वा सुतीका कपडा प्रयोग गर्छन् । अहिले धेरैजना महिलासँग महिनावारीबारे कुरा गर्दा उनीहरूले यो बार्ने कुरामा खासै विस्वास नगरेको र पालना पनि नगरेको पाउँछु । अधिकांशले घरमा कसैलाई नभन्ने र पालना पनि नगर्ने बताउँछन् । यो देख्दा त यत्तिको समयमा धेरै परिवर्तन आएजस्तो लाग्छ । मेरो छोरी उमेरका महिलाहरु र उनीहरुपछिका पुस्ताले अब यस्ता नियम पालना गर्न छोडिसके । त्योसँगै महिनावारीमा महिलाले प्रयोग गर्ने प्याडबारे पनि बोल्न लजाउने मानसिकता थियो । अहिले यसबारे बोल्न कसैलाई पनि संकोच छैन । यो पनि सकारात्मक परिवर्तन हो । नेपाल सरकारले विभिन्न विद्यालयमा प्याड वितरण गर्ने भनेर वर्षैपिच्छे बजेट छुट्याउँछ । सरकारको यो कदमलाई कसरी हेर्नुभएको छ ? गएको दुई वर्षमा म नेपालका धेरै विद्यालय चहारें । एकदमै कममा मात्रै प्याड वितरण भएको छ । जुन ठाउँमा बाँडिएको छ त्यहाँ प्याड प्रयोग गर्नका लागि पर्याप्त जनचेतना नै दिइएको छैन । विद्यालयको शौचालयका कम्बोडमा प्याड असरल्ल फालिएको अवस्थामा भेटिन्छन् । लगाएको वस्तु कहाँ व्यवस्थाप गर्ने भन्नेबारे सिकाउनु उत्तिकै महत्वपूर्ण हुन्छ । प्याड वितरणको लागि एक अर्बको बजेट छुट्याउनु साटो स्थानीय वडामा महिलाहरूलाई आफैंले कसरी सुतीको प्याड बनाउनेबारे तालिम दिइएको भए यो बढी प्रभावकारी हुुने थियो । यसले महिलालाई रोजगारी त दिन्थ्यो नै, सँगै वातावरणको हिसाबले पनि यो राम्रो हुन्थ्यो । अहिले बजारमा महिनावारी हुँदा मेन्सुरल कप लगाउने प्रवृत्ति र यसको प्रचार पनि बढेको छ । यो लगाउने÷नलगाउनेबारे के सुझाव दिनुहुन्छ ?म व्यक्तिगत रुपमा मेन्सुरल कपको ठूलो विरोधी हुँ । कुनै पनि कुराहरू शरीरभित्र घुसाउनु हुँदैन भन्ने मेरो मान्यता छ । महिलाको योनी निकै कमलो छाला र कोषहरुबाट बनेको हुन्छ । त्यहाँ अलिकति पनि घाउ भएमा र किटाणु परेमा त्यसले निकै ठूलो समस्या निम्त्याउँछ । कुनै समय ‘महिला कन्डम’ आएको थियो । त्यसको पनि यसैगरि धुमधामसँग प्रचार भयो । तर, अन्तिममा फेल खाएर गयो । यो पनि त्यस्तै हुन्छ। हाम्रो देशमा यस्ता पनि महिला छन् जसलाई पिसाब र बच्चा निस्कने द्वारबारे समेत जानकारी छैन । यस्तो अवस्थामा मेन्सुरल कप अन्जानमै प्रयोग गर्नु त आफैंमा घातक हो नै । यदि मेन्सुरल कप ‘हाइजेनिक’ अवस्थामा भएन भने त्यसले अर्को समस्या निम्त्याउँछ । गाउँघरमा जाँदा म किशोरीहरूलाई सकेसम्म सुतीको कपडा प्रयोग गर्ने र प्रयोग गरेपछि धोएर मज्जाले घाममा सुकाउन सुझाउँछु । कतिपयलाई महिनावारीको समयमा पेट दुख्ने, वाकवाक आउने समस्या हुन्छ । यो हुनुलाई सामान्य मान्न सकिन्छ ? यो समस्या धेरैलाई हुन्छ । तर, त्यस्तो समस्यालाई महिलाहरूले आफ्नो खानपानमा ध्यान दिएर कम गर्न सक्छन् । कतिपय सहनै नसकेर बेहास पनि हुन्छन् । यो विशेष किसिमको अवस्था हो । कसैको पाठेघरको भित्रको पत्र अलि बाक्लो हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई सहन नसक्ने पीडा हुन्छ । बेहोस नै हुने अवस्था छ भने औषधि उपचार नै गर्नुपर्छ । होइन भने सामान्य पेट दुख्ने, स्तन भारी हुने, जीउ दुखेको अवस्थामा चिनी, नुन, कफी, चियाको सेवन कम गर्नुपर्छ भने व्यायाम गर्ने र क्याल्सियम तथा आइरन बढी भएको खानेकुरा खानुपर्छ । हिजोआज अधिकांश महिलाको महिनावारी समयमा नहुने गुनासो हुन्छ । यस्तो समस्या पहिला पनि धेरै हुन्थ्यो कि अहिले बाहिर आएकोमात्रै हो? सामान्यतया महिनावारी ठयाक्कै २८ या ३० दिन भित्र हुनुपर्छ भन्ने अधिकांशको अडान हुन्छ । वास्तावमा त्यो होइन । कसैको २१, २५, ३५ त कसैको ४० दिनमा पनि हुन्छ । कोहि महिनाको दुई पटक पनि हुन्छ । संसारभरको नमुनाको आधारमा मात्रै २० या ३० दिनको समयलाई बढी मान्यता दिइएको हो । हरेक पटकको महिनावारी एकै समय सीमामा हुन्छ भने त्यो समस्या होइन । गर्भ रहेको अवस्था वाहेक अन्य समयमा महिनावारी ढिला हुनुमा दुई/तीनवटा कारण छन् । पहिलो, हार्मोनल इम्ब्यालेन्सका कारण पनि महिनावारी ढिला हुन सक्छ । कतिपयले महिनावारी टाढा सार्ने औषधी खान्छन् । यो एकदमै गलत हो । यस्तै औषधीको सेवनले शरीरको हर्मोनलाई गडबड गराउँछ । हर्मोनको गडबडीमा अर्को समस्या ‘पिसिओएस’ पनि जोडिन्छ । यो समस्या भएको बेलामा अनुहारमा सामान्य अवस्था भन्दा धेरै डण्डीफोर, रौंहरू देखिने गर्छ । यो खानपानको कारण पनि हुन सक्छ । हिजोआज हाम्रो खानपान पनि फेरिएको छ । तयारी र खराब खानेकुराको सेवन धेरै गर्दा पनि महिलाको पाठेघरमा अण्डा राम्रोसँग बन्न पाउँदैन । अण्डा राम्रोसँग नफुटेपछि महिनावारी समयमा हुँदैन । यसको लागि डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुपर्ने हुन्छ । योगासन गरेर, खानपानमा सुधार गरेर यो समस्याबाट बच्न सकिन्छ ।दोस्रो,महिलाहरूलाई तनाव बढेको बेलामा पनि महिनावारी ढिला हुन्छ । हाम्रो मष्तिष्कमा परेको प्रभाव, आवेगले पनि महिनावारी तलमाथि हुन सक्ने देखिएको छ । अर्को, एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा पनि यस्तो हुन सक्छ ।