NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्यो : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार नै लोकतान्त्रिक गणतन्त्र अनुकूल नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै देउवाले गणतन्त्रले सफलता पाउन शासकको चरित्र र व्यवहार राम्रो हुनुपर्ने बताए । ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ ।’ देउवाले भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’ नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापना भएको उनको भनाई छ । ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ देउवाले भनेका छन् । कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको भन्दै उनले भनेका छन्, ‘यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु ।’ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा उनले शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष