NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने एमाले नेता रावतमाथि बलात्कारसहितका काण्ड

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मी कुटपिटमा संलग्न मुख्य आरोपी तुलसीपुर–११ उरहरीका ४३ वर्षीय मानबहादुर रावतमाथि यस अघि पनि बलात्कार, यौन दुव्र्यवहारसहितका अनेक काण्ड लागेको पाइएको छ । आफ्ना दाजुको मृत्युपछि नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि आक्रमणमा उत्रिएका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । पारिवारिक स्रोतका अनुसार यसअघि उनी तुलसीपुर उपमहानगरपालिकामा सुब्बा थिए । उरहरी गाविस सचिव हुँदै उनले नगरप्रमुख घनश्याम पाण्डेको सचिवालयमा काम गरेका थिए । त्यतिबेला उनले जनप्रतिनिधि महिलालाई सताएको गुनासो आएको थियो । महिला जनप्रतिनिधिमाथि यौन दुव्र्यवहार गरेको भन्दै पटकपटक उजुरी परेपछि नगरप्रमुख पाण्डेले सचिवालयबाट वडा कार्यालयमा जान आग्रह गरेका थिए । वडा कार्यालयमा शक्तिको अभ्यास गर्न सकिने स्थिति नभएपछि उनले ६ महिनाअघि जागिरबाटै राजीनामा दिएका थिए । रावतमाथि सात वर्षअघि लमहीकी एक महिला कार्यकर्तालाई बलात्कार गरेको आरोप पनि लागेको थियो । पार्टीको कार्यक्रम सकेर मोटरसाइकलमा घरमा पुर्‍याउन गएका रावतले जबर्जस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि उनी लामो समय फरार भएका थिए । पछि अदालतबाट सफाइ पाएपछि उनले फेरि राजनीति र जागिर सँगसँगै गरिरहेका थिए । उनले आफूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलनिकट बताउँदै स्वास्थ्यकर्मीलाई धम्क्याउने गरेको पनि आरोप लागेको छ । कान्तिपुरमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष