NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ओलीलाई इंगित गर्दै वामदेवले भने, ‘गणतन्त्र स्थापना गर्दा झापा संघर्षका तीन नेता नै विरुद्धमा थिए’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना दिवसको शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोध भएको आरोप लगाएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तत्कालीन अवस्थामा गणतन्त्र स्थापनाका लागि ओली नै विरुद्धमा उभिएको बताएका छन् । ओलीतर्फ इंगित गर्दै गौतमले भनेका छन्, ‘हामी सबै गणतन्त्र स्थापनाका लागि लागेका थियौं । तर, तत्कालीन झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो ।’ यस्तै गौतमले गणतन्त्र स्थापनाका लागि तीन नेतालाई श्रेय दिएका छन् । उनले तत्कालीन कांग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालकै प्रयासमा गणतन्त्र स्थापना भएको बताएका छन् । गणतन्त्र घोषणाको प्रस्तावक भने आफू रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले दिवसको अवसरमा शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान पनि गरेका छन् । उनले भनेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो ।’ उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले संघर्षको नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका तीन मुख्य नेता नै विरुद्धमा रहेको आरोप लगाए । उनले उक्त आरोप प्रधानमन्त्री तथा हाल नेकपा एमाले अध्यक्ष ओलीप्रति नै लगाएका हुन् । उनले भनेका छन्, ‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए।’

ताजा अपडेट

नेपालवाच विशेष