NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ग्रामीण क्षेत्रमै किन हुन्छ बालविवाह ?

बचपनमा मलाई एउटै चिन्ता हुन्थ्यो जन्म घर छोडी पराईको घरमा जान । गाउँमा जति छोरीहरुको विवाह भए सबै छोरीहरु घरबाट घुम्टो ओढाएर पराई घर जाने बेलामा डाँको छोडी रोएको देख्दा मलाई सधै मनमा प्रश्न उब्जिरहन्थ्यो । मलाई नि एक दिन यसरी नै जन्मघर छोडी जानुपर्छ । यो डरले एक दिन आमालाई सोधे “छोरीहरु मात्र पराई घर किन जान्छन् आमा ´´ ? यो प्रश्न सोध्दै थिए बाबा आइपुग्नु भयो । मैले त्यही प्रश्न बाबा लाई सोधे “अस्ति माथि गाउँको दिदिलाई रुदैरुदै हात समातेर कता पठाउनु भयो बाबा ´´ बाबाले मलाई एउटै जवाफ दिनुभयो, छोरीहरु विवाह गरेर पराई घर जानुपर्छ यो हाम्रो पुर्खौ देखि चलिआएको चलन हो छोरी । मलाई यो कुराले चित्त बुझेन । फेरि आमासँग सोध्न पुगेँ आमाले मलाई त्यो दिन सबै कुरा बताउनुभयो । पहिला पहिला तीन वर्षको उमेरदेखि माथी विवाह हुन्थ्यो । तिनीहरु अझै हाम्रो गाउघरमा जीउँदै छन् भनेर धेरै बज्यैहरुको नाम लिनुभयो । त्यो बेला विवाह गर्न नमानेपछि पिटेर, दग्छी दग्छी लिने चलन थियो । हिजोआज पो यस्तो चलन आयो । आमाको कुरा सुनिसकेपछी विवाहको बारेमा गहिरिएर बुझ्न मन लाग्यो । विवाह भनेको के हो ? किन विवाह गरिन्छ ? कसको लागि गरिन्छ ? नगरे हुँदैन ? किन छोरी मान्छे मात्र पराई घर जानुपर्छ ? छोरा मान्छे जादा हुँदैन ? मलाई यस्तै प्रश्न मनमा सधैं खेलिरहन्थ्यो । अलि ठूलो भएपछि एसईई सकेर काठमाडौ आएँ अनि मेरा मनका प्रश्नको जवाफ पाउन थालेँ । कानुन के हो ? समाज के हो ? अनि जीवन के हो ? भन्ने कुरा सामाजिक सञ्जाल, किताब आदि पढेर बल्ल थाहा पाए विवाह भनेको के हो ? कानुनमा भनिएको छ कुनै पनि व्यक्तिले गर्ने नगर्ने भन्ने कुरा उसको नैसर्गिक अधिकार हो । आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र आफैं तय गर्न पाउनु प्रत्येक व्यक्तिको हक र अधिकार हो । कानुनमा यस्तो अधिकार लेखिएको छ भन्ने बारेमा अझै कतिलाई थाहा नै छैन । नेपालको संबिधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्ने वा बन्धक राख्न नपाइने गरि बालबालिकाको निम्ति हक र अधिकारका रुपमा स्थापित गरेको छ । कुनै पनि राष्ट्रले तोकेको उमेरभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । नेपालको सन्दर्भमा विवाहको लागि वि.स. १९१० को मुलुकी ऐनमा ५ वर्ष र वि.स. २०२० को मुलुकी ऐनमा स्त्री लाई १४ वर्ष र पुरुषको लागि १८ वर्ष तोकिएको थियो । वि.स. २०७२ को संविधानपछि विवाह गर्न न्यूनतम २० वर्ष तोकिए पनि अझै ग्रामीण क्षेत्रमा ४३ प्रतिशत र सहरमा २७ प्रतिशतले १८ वर्ष नपुगी विवाह गर्ने गर्छन् । हिजोआज गाउँघरको अवस्था देख्दा आकाश जमिनको फरक देखिन्छ । बरु आमाको कुरा सुन्दा हिजोआजका दिनमा फरक भने पक्कै भएको छ । आकाशमा उड्ने पन्छी जस्तै स्वतन्त्र भएर जीवन जिउन सकिरहेको छैन । नौ नौ महिना काखमा राखेर आफूले नखाई हुर्काउने ती भगवान बाआमा छोडी पराईको घर जान कसलाई रहर हुन्छ र ? भाग्यले भनौं वा पितृसत्तात्मक सोचको व्यवहार भनौं अझै हाम्रो समाज परिवर्तन हुन सकेको छैन । यही पितृसत्तात्मले गर्दा हो वा गरिबी , अशिक्षा र बाध्यताका कारणले हो बाल विवाहमा अझै भनेजस्तो सुधारहुन सकेको छैन । बाल विवाह किन गर्छन् त भनेर खोज्दै जाँदा यसका केही कारणहरु भेटिए । १. बालविवाह गर्दा हुने हानी र थप समस्याको बारेमा कतिलाई त जानकारी नै नभएर गर्ने गर्छन् २. बाल विवाह दण्डनीय अपराध हो भन्ने कुरा थाहा नभएकै कारण ३. सामाजिक सञ्जाललाई दुरुपयोग गरेका कारण ४. विवाहमा अभिभावकको निर्णायक भूमिका हुने हुँदा ५. किशोर किशोरी अवस्थामा अपरिपक्कता र ज्ञानको अभावका कारण ६. साथीहरूको लहैलहैमा लाग्नु र साथीहरूको दबाब नकार्न नसक्नु ७. गरिबी , अशिक्षा र अपरिपक्कताका कारण बालविवाह हुनुको मुख्य कारण भनेकै अशिक्षा हो । अशिक्षा, आर्थिक अवस्था कमजाेर र कानूनी ज्ञान नभएकै कारण ग्रामीण क्षेत्रका बालिकाहरु उमेरै नपुगी वैवाहिक जीवनमा जाेडिन बाध्य छन् । याे नै ग्रामीण महिलाकाे उज्वल भविष्य निर्माण गर्ने मूल बाधक हाे । संसारमा यस्तो चलन छ जो बिबाह गर्दा पुरुष सधैं उमेरमा ठूलो हुने गर्छ । त्यसैको प्रभावले गर्दा गाउँघरमा धेरैजसो युवाहरु २० वर्ष नपुग्दै विवाह गर्छन् भने युवती झन सानो उमेरमै । यो पनि एक मुख्य कारण बनेको छ । बाल बिबाह छोराका कारणले छोरिहरु सानै उमेरमा बिहे गर्न बाध्य हुन्छिन् । यसको समाधान भनेकै राज्यले आधारभूत आवश्यकता जस्तै शिक्षा निशुल्क गरिदिनु पर्छ , बिरामी पर्दा हरेक रोगको निशुल्क उपचार सहित देश भित्रै सीप , क्षमता, कला अनुसार रोजगारीको ग्यारेन्टी भएको भए सायद बाध्य भएर अरुसँग यसरी झुक्नु पर्दैन । आज परनिर्भर भएरै पीडालाई मनमा गाँठो पारी दुख सहेर जीवन जिउनु परेको छ । कानुनको ठेलिमा सुन्दर अक्षरले लेखिँदैमा नागरिकका पीडा हल हुँदैनन् । सन २०१४ को जुलाई २२ का दिन बेलायतमा भएको बालबालिका शिखर सम्मेलनबाट नेपालले सन् २०२० भित्र बाल विवाह अन्त्य गरिने छ भनेर कसम खाएको वर्ष दिन वितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । जबसम्म आत्मनिर्भर हुने क्षमताको विकास हुँदैन तबसम्म यसरी नै समाज घिर्सिरहन्छ । बालविवाह समाज विकासको एक बाधक पक्ष हो भनेर बालविवाह रोक्न स्थानीय निकायमा जिम्मेवारी दिएको छ । बालविवाह विरुद्ध चेतनाका अभियान चलाउने, जनजागरण कार्यक्रम संचालन गरी गाउँ स्तरमा बाल संरक्षणको विषयमा उल्लेख हुँदा पनि आजका दिनसम्म स्थानीय निकायले केहि पनि चासो दिएको छैन । स्थानीय निकायले बालबालिकाका निम्ति प्रभावकारी काम गरेको पनि देखिँदैन । बालविवाह नगर्न नगराउनका लागि एउटा छुट्टै अभियानको खाचो भएकाले हामी यस गाउँपालिकामा केहि सचेत युवा मिलेर नयाँ अभियान (अध्ययन प्रतिष्ठान ) को सरुवात गरेका छौं । यस अभियानमार्फत जनचेतनामुलक कार्यक्रमको संचालन गरिने छ । अहिलेसम्म जति नै बाल क्लब, युवा क्लबहरु गठन भएता पनि खासै प्रभावकारी काम गर्न सकेका छैनन् । त्यसैले अव नयाँ ढंगले , नयाँ विधिबाट बाल विवाह र अन्य सामाजिक समस्याहरु हल गर्न अध्ययन प्रतिष्ठानमार्फत असल समाज र असल नागरिक बनाउन मुख्य लक्ष्य लिइएको छ । यही प्रतिष्ठान मार्फत समाजभित्रको अन्धविश्वास हटाउन चेतनामार्फत मात्र सकिन्छ भन्ने उदेश्य छ ।

ताजा अपडेट

नेपालवाच विशेष