NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उज्वल थापाको उपचारको लागि ५२ लाख ३४ हजार रूपैयाँ संकलन

काठमाडौं । विवेकशील साझाका पूर्व संस्थापक उज्वल थापाको उपचारको लागि ५२ लाख ३४ हजार ४१८ रुपैयाँ आर्थिक सहयोग उठेको छ । कोरोना संक्रमणको कारण थापाको अवस्था जटिल बनेपछि उनका शुभेच्छुकले सार्वजनिक अपील गर्दै आर्थिक सहयोगको आह्वान गरेका थिए । जुन आह्वानपछि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थापाका लागि ५२ लाख ३४ हजार रकम उठेको जानकारी उनका शुभेच्छुकहरुले दिएका छन् । जसमा गोफन्डमीमा २२ हजार २ सय ९१ डलर जम्मा भएको र नेपाल बैंकमा २६ लाख ५० हजार जम्मा भएको जानकारी दिइएको छ । ‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । शुभेच्छुकबाट पैसा उपचारको लागि नगद जम्मा भएपछि थापाको परिवारले बीएण्डसीका संचालक दुर्गा प्रसाईंले घोषणा गरेको सम्पूर्ण खर्च बेहोर्न गरेको प्रस्तावलाई अवस्वीर गरेको छ । ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष