NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कुन–कुन देशबाट आउँदै छ खोप ? दश दिनपछि खोप वितरण व्यापक

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि यतिबेला मुख्य अस्त्र बनेको छ भाइरसविरुद्धको खोप । शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले १० दिन भित्रमा नेपालमा कोरोना विरुद्धको खोपमा ब्रेक–थ्रु हुने जनाउ दिएका छन् । कसरी हुन्छ त १० दिनभित्रै भ्याक्सिनको व्यापकता ? परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको शुक्रबारको अभिव्यक्ति तथ्यगत भएको स्वास्थ्य मन्त्रालयको दावी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार खोप खरिदका लागि सरकारले खोप उत्पादन गर्ने सबै राष्ट्रलाई ‘कुटनीतिक नोट’ पठाइसकेको छ । चीनले नेपाललाई अनुदानमा दिने खाेप दुई चरणमा ल्याइने छ । पहिलाे चरणमा २ तारिखमा दुई लाख डाेज खाेप आउने छ । बाँकी आठ लाख केही दिनमा आउने मन्त्रालयका ती अधिकारीले बताए । त्यो खोप लगाइसक्दा अमेरिका र बेलायतबाट कम्तिमा १०/१० लाख डोज खोप आइपुग्ने गरी काम भइरहेको मन्त्रालयको दावी छ । अबको १० देखि १५ दिनसम्ममा खोपमा ब्रेक–थ्रु हुने मन्त्रालयको दावी छ । चुनावको घोषणा गरेसँगै सबैका लागि खोप जुटाउन राजनीतिक नेतृत्व नै खटिएका छन् । त्यही कारण खोप ल्याउन सहज बनेको मन्त्रालयले जनायो । एक अधिकारीका अनुसार सरकारले दुई प्रक्रियामार्फत खोपको पहल अघि बढाएको छ । एउटा सहयोगको रुपमा खोप ल्याउने, अर्को बिक्रीकाे व्यवस्था मिलाउने भनेर परराष्ट्र मन्त्रालयमार्फत ती देशहरूमा पत्र पठाइएको छ । यसको आगामी प्रक्रिया त्यहाँका सम्बन्धित राजदूतले अघि बढाइरहेका छन् । ‘खोप खरिदका लागि अहिले मुख्यगरि तीनवटा काम भइरहेको छ । नेपाललाई खोप दिन तयार रहेका देशहरूसँग तत्काल दिनसक्ने डोज र मूल्यबारे छलफल चलिरहेको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महानिर्देशक दिपेन्द्र रमण सिंहले भने, ‘कोभ्याक्स फेसिलिटिले पनि कोभिसिल्डको विकल्पमा खोप रोज्न पठाएको पत्रको उत्तर मन्त्रालयले पठाइसकेको छ । जसकारण चिनियाँबाहेक अन्य देशबाट पनि खोपको लागि ढोका खुलिसकेको छ ।’ भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अप इन्डियाले कोभिसिल्ड नपठाएपछि खोप वितरण अभियान कोभ्याक्सले नेपाललाई यसको विकल्पमा अन्य खोप छान्न पत्राचार गरेको थियो । सिंहका अनुसार यतिबेला अमेरिका पनि जोन्सन एण्ड जोन्सन खोप पठाउनका लागि सकारात्मक छ । ‘सबैतिरबाट एकैपटक खोप आयो भने लगाउन पनि गाह्रो पर्छ । एउटाबाट आउँदै जान्छ हामी क्रमश लगाउँदै जान्छौं,’ उनले भने, ‘सायद चीनबाट आउने दश लाख डोज खोपले पनि यसको मुभमेन्ट बढाउँछ ।’ यसअघि पनि चीनले नेपालाई ८ लाख डोज खोप पठाइसकेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापक महाशाखा प्रमुख डा.भीमसिंह तिंकरी यतिबेला चिनियाँबाहेक अमेरिकाको जन्सन एण्ड जन्सन र रुसको स्पुतनिक खोपको लागि पनि पहल भइरहेको बताउँछन् । उनका अनुसार नेपालको हकमा अमेरिकाको मोर्डना, जोन्सन एण्ड जोन्सन, भारतको कोभिसिल्ड, रुसको स्पुतनिक, भेरोसेललगायतका खोप यहाँको भण्डारणका लागि उपयुक्त छन् । यीमध्ये जोन्सन एण्ड जोन्सन र स्पुतनिकले पनि नेपाललाई खोप पठाउनका लागि इच्छा जनाएका छन् । मन्त्रालयका एक उच्च अधिकारीले बेलायतबाट पनि दश लाख डोज खोप आउन पहल भइरहेको बताए । उनका अनुसार चीनपछि अमेरिका र बेलायतमा कुटनीतिक पहलमार्फत खोप ल्याउने गरि काम भइरहेको छ । रुसबाट पनि खोप खरिदका लागि प्रक्रिया अघि बढाइएपनि बेलायत, अमेरिका र चीनसँग जस्तो स्पष्ट खाका तयार नभइसकेको उनले बताए । भारतबाट आउने कोभिसिल्ड भने पर्ख र हेरको अवस्था हाल १३ लाख वृद्धवृद्धाले भारतको कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । उनीहरू दोस्रो डोजको पर्खाइमा रहेको कतिको ८ त कतिको १२ हप्ता बित्यो । तर, त्यहाँको उच्च अदालतले खोप निर्यातमा बन्देज लगाएका कारण स्थिती अझै पर्ख र हेरको अवस्थामा छ । सरकारले यतिबेला आफूलाई आवश्यक खोपको लागि भारतसँग पहल गरिरहेको छ । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भारतका राष्ट्रपतिसँगको टेलिफोन वार्तामा यसबारे विशेष आग्रह गरेकी थिइन् । भारतबाट आउने खोपबारे यतिबेला सबै अधिकारीहरूको एकस्वर छ, ‘भारतमा हामीले पैसा बुझाइसकेको छौं । ढिलो चाँडो आउला । नेपाललाई महत्वमा राख्नुपर्यो भनेर माथिल्लो निकायबाट पनि वार्ता भइरहेको छ । अदालतले अड्काएको कारण गाह्रो भएको हो ।’

ताजा अपडेट

नेपालवाच विशेष