NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रौतहटमा कोभिड फाइट :सीमित स्रोत–साधन तर उत्कृष्ट नतिजा

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । प्रदेश २ को रौतहट पनि यसबाट मुक्त छैन । हालसम्म ४७ जनाको जिल्लाभित्रै र ४१ जनाको अन्य स्थानमा कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । अझै पनि ७६३ सक्रिय संक्रमित छन् । संक्रमण फैलावटको तुलनामा आवश्यक स्रोत र साधन रौतहटमा छैन । तैपनि रौतहटले आफूसँग उपलब्ध स्रोतको समुचित प्रयोग गरेर कोरोना महामारीलाई काबुमा लिइरहेको छ । स्रोत र साधन अभावबीच पनि कुशल व्यवस्थापनको छडी चलाएर कसरी परिणाममुखी नतिजा निकाल्न सकिन्छ भन्ने उदाहरण रौतहट बनेको छ । जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, परीक्षण, उपचार र नियन्त्रणका लागि भइरहेका प्रयास र असुविधाहरूबारे रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलेले आफ्नै शब्दमा यसरी सुनाए :– देशका अन्य जिल्ला जस्तै रौतहट पनि कोरोनाबाट अछुतो छैन । कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म यहाँका १०६९ जना संक्रमित भएका छन् । जसमध्ये ४७ जनाको जिल्लाभित्र र ४१ को बाहिर मृत्यु भएको छ । जिल्लामा अहिले ७६३ जना सक्रिय संक्रमित हुनुहुन्छ । यीमध्ये पनि २६ जनाको जिल्लाभित्रै र बाँकीको अन्यत्र विभिन्न जिल्लामा उपचार भइरहेको छ । होम आइसोलेसनमा पनि उत्तिकै हुनुहुन्छ । देशका अन्य स्थानमा अक्सिजन अभाव भयो भन्ने सुनिएको छ । तर हाम्रोमा अहिलेसम्म मागअनुसार आपूर्ति भइरहेको छ । तर दु:खको कुरा, हाम्रोमा आईसीयू र भेन्टिलेटर छैन । जसका कारण गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ । कोभिड–१९ संक्रमण फैलन नदिन पनि हामी उत्तिकै चनाखो र सतर्क छौं । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअघि यहाँका गौर र बंखु नाकाबाट खुला थिए । आवागमनमा कुनै रोकतोक थिएन । तर अहिले बंखु नाका पूर्ण रूपमा सिल छ भने गौर नाकाबाट निश्चित मापदण्ड पालना गरेपछि मात्र प्रवेश अनुमति पाइन्छ । जस्तो: नाकाबाट प्रवेश हुनेबित्तिकै हरेकले हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराउनै पर्ने व्यवस्था हामीले गरेका छौं । स्वास्थ्य परीक्षणपछि के गर्नुहुन्छ भनेर सोध्नु होला । त्यसपछि पनि हामीले सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर मात्र त्यस्ता व्यक्तिलाई छाड्ने गरेका छौं । कोभिड परीक्षणका लागि यस जिल्लामा ०७७ असोजबाट पीसीआर ल्याब सञ्चालनमा छ । दैनिक सरदर १००–२०० सम्मको नमुना परीक्षण हुने गरेको छ । पछिल्लो एक महिनामा मात्रै यो प्रयोगशालामा झण्डै ४ हजार नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । परिक्षणबाट पोजेटिभ आएका बिरामीलाई स्थानीय तह, सुरक्षा निकाय, सरोकारवालाको पहुँचमा पर्ने गरी व्यवस्थापन गर्ने गरेका छौं । उहाँहरूबाट संक्रमितलाई होम आइसुलेसनमा राख्ने, फलोअपसँगै पीसीआर विधिबाट परीक्षण प्रबन्ध गर्ने, संक्रमितले मापदण्ड पालना गरे/नगरेको अनुगमन गर्ने र कन्ट्रयाक ट्रेसिङ गर्ने काम हुन्छ । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा सात सदस्य सम्मिलित अपडेट सेन्टर खडा गरिएको छ । जसले कन्ट्रयाक ट्रेसिङको काम गर्छ । सबै संक्रमितहरूको व्यवस्थापनको लागि होम आइसोलेसनमा बस्नेहरूका निम्ति घुम्ती स्वास्थ्य सेवा व्यवस्थापन गरिएको छ । त्यसले बिरामीलाई औषधि उपलब्ध गराउँछ । लक्षण देखिएकालाई राख्न ४ वटा सेन्टरको व्यवस्था गरिएको छ । सवारी साधनको आवश्यकतालाई मध्यनजर गरेर एम्बलेन्सको व्यवस्था पनि गरिएको छ । लक्षण देखिएका, संक्रमण पुष्टि भएकाहरूलाई अस्पताल ल्याउने, त्यहाँबाट रिफर सेन्टरसम्म पुर्‍याउने काम त्यसबाट हुन्छ । अस्पताल नजिकका स्थानमा बिरामी बोक्न समस्या नहोस् भनेर स्टेचरको पनि प्रबन्ध गरिएको छ ।बिना जानकारी बिरामी अस्पताल लैजाँदा बेडको समस्या हुनसक्छ । त्यसैले आवश्यक समन्वयमा पनि उत्तिकै ध्यान दिएका छौं । मृत्यु भएका संक्रमितको अन्त्येष्टि गर्ने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । सरकारको यही नीतिअनुसार रौतहटमा पनि सेनाले शव व्यवस्थापनको काम गरिरहेको छ । परिवार आफैंले पनि आफन्तको अन्येष्टि गर्न सक्छन् । तर त्यसका लागि आवश्यक मापदण्ड पालना गर्न अपरिहार्य हुन्छ । सेनाले अहिलेसम्म यहाँ ७ जनाको शव व्यवस्थापन गरिसकेको छ । कोरोनाका बिरामीले भर्ना उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाका ३७ निजी अस्पतालसँगको समन्वयमा उपचारको व्यवस्था मिलाइएको छ । वैशाख २४ बाट लगाइएको निषेधाज्ञालाई थपेर जेठ १९ सम्म पुर्याइएको छ । निषेधाज्ञामा हुनसक्ने कृतिम अभाव र कालोबजारीतर्फ पनि हाम्रो नजर परेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, रौटहटको अगुवाइमा स्थानीय तह, जिल्ला उद्योग वाणिव्य संघ, रौतहट र स्थानीय सञ्चारकर्मीसँग हातेमालो गरेका छौं । अस्पतालमा संक्रमितको उपचारका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि विभिन्न अस्पतालमा आक्रमणको प्रयास भएको छ । भेरी अस्पतालमा हालै मात्र दु:खद् घटना भयो । यसले स्वास्थ्यकर्मीको त्रसित मात्र पारेको छैन, मनोबल नै खस्किएको छ । त्यसैले हामीले स्वास्थ्यकर्मीको सुरक्षामा पनि विशेष ध्यान दिएका छौं ।

ताजा अपडेट

नेपालवाच विशेष