NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वागमतिमा बादल हारेपछि लुम्बिनी प्रदेशमा आज हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कसले जित्ला ?

काठमाडौं । यस अघि रिक्त राष्ट्रिय सभा सदस्यमा वागमतिमा निर्वाचन भएपछि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदैछ । रिक्त रहेको एक सदस्यका लागि आज बिहान ९ बजेबाट तीन बजेसम्म निर्वाचन हुन लागेको हो । प्रदेशको स्थायी राजधानी दाङ घाेराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने मतदानपछि आजै मतगणना गरेर नतिजा सार्वजनिक हुनेछ । माओवादीबाट राष्ट्रियसभामा जितेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो । निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्का कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार दृगनारायण पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् ।एमालेका उम्मेदवारलाई जसपाको महन्थ ठाकुर पक्षको पनि साथ छ । यस अघि बादल पराजित भएपछि लुम्बिनीमा सत्तारूढ एमालेले दलले यसपटक जितलाई प्रतिष्ठा बनाएकाे छ । निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता हुन्छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ हुनेछ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार प्रत्येकको १८ हुनेछ ।प्रदेशसभामा ८३ र स्थानीय तहमा २१७ गरी ३ सय मतदाता सहभागी हुँदैछन् । यस अघि वागमतिमा भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेका रामबहादुर थापा बादल पराजित हुन पुगेका थिए । उनीविरुद्ध पनि कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूहसहितका दलले साझा उम्मदेवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सारेका थिए । गठबन्धनका उमेदवार देवकोटा ५०८८ मतभार ल्याएर विजयी हुँदा बादलले ४०१४ मतभार पाएका थिए । सरकारले निक्कै प्रतिष्ठा बनाएको निर्वाचनमा बादल पराजित भएपछि प्रधानमन्त्री केपी ओलीले निराशा व्यक्त गरेका थिए । निर्वाचन परिणाम मन्त्रिपरिषद् बैठकमा ओलीले आफ्नो मुड अफ भएको भन्दै विश्वासको मत नलिने र संविधानको धारा ७६(५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए । संसदमा कुनै सदस्यलाई बहुमत पुर्याउने गरी राष्ट्रपतिले दिएको २१ घण्टामा कांग्रेस माओवादी, एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम उपेन्द्र पक्षका १४९ सांसदले सरकारमा दाबी गरे । प्रधानमन्त्री केपी ओलीले पनि आफूसँग एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको भन्दै १५३ जनाको समर्थन रहेको जिकिरसहित दाबी गरेका थिए । तर, दुवैको दाबीमा आधार नदेखिएको भन्दै राष्ट्रपतिले मध्यावधि निर्वाचनको बाटो देखाएकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष