NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मन्त्री आलेद्वारा भाटको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग गरेका छन् । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट्न पुगेर मन्त्री आलेले उपचारका लागि उक्त रकम सहयोग गरेको प्रशासन सहायक भक्त आलेले जानकारी दिए । अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा भाट जलेर गम्भीर घाइते भएकी हुन् । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार हुँदैछ । मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । अहिले लक्ष्मीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा. सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।