NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

६० देखि ६५ उमेरकालाई चिनियाँ भेरोसेल खाेप दिइने

चीनबाट अनुदानस्वरूप प्राप्त हुने १० लाख मात्रा खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने १० लाख ‘भेरोसेल’ जोखिम वर्गको आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई दिन लागिएको बताए। उनले खोप भित्रिने मात्राको आधारमा खोप लगाउनेको उमेर समूह छुट्याउँदै जाने पनि बताए। सोमबार साँझ बेइजिङ गएको नेपाल एयरलाइन्सको विमानले मंगलबार खोप लिएर आउँदै छ । तर, योपटक २ लाख मात्रा खोप मात्र आउने बताइएको छ । डा. पोखरेलका अनुसार कम्तीमा ५ लाख मात्रा खोप प्राप्त भएपछि मात्रै खोप कार्यक्रम सञ्चालन गरिनेछ । यसभन्दा अगाडि चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो ।सरकारको तथ्यांकअनुसार ६० देखि ६५ वर्षका अझै करिब सात लाख नागरिकलाई खोप लगाउन बाँकी नै छ । दुवै डोज खोप दिनका लागि १४ लाख मात्रा आवश्यकता पर्छ । यसअघि, सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो । झन्डै ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । डा. पोखरेलले आगामी दिनमा कोभिसिल्डको सट्टा दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने तयारी भइरहेको बताए। उनले भने– ‘एस्ट्राजेनिका खोप ल्याउने तयारी भइरहेको छ । सो खोप आएपछि पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनेछौं ।’ नेपाल समाचारपत्रमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष