NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोना उपचारमा प्रयोग हुने टोसिलिजुमाव नेपालमा, कसरी गर्छ काम ?

काठमाडौं । कोरोना संक्रमितको उपचारको लागि प्रयोग हुँदै आएको टोसिलिजुमाव इन्जेक्सन नेपालमा पनि भित्रिएको छ । गत शुक्रबार औषधि व्यवस्था विभागले जारी गरेको विज्ञप्तिका अनुसार यतिकेम डिस्ट्रब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमएलको पाँच सय भाइल नेपाल ल्याएको हो । विभागका अनुसार तोकिएको मापदण्ड प्ररा गरेर कोभिड बिरामीका आफन्तले यो औषधि प्राप्त गर्न सक्नेछन् । विभागले उक्त औषधिको मूल्य प्रति भाइल ५९ हजार ८ सय ९० रुपैयाँ तोकेको छ । बिरामीका आफन्तले बिरामी भर्ना भएको अस्पतालको सिफारिस पत्रमा कोभिड–१९ अस्पतालको आधिकारिक चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रर नम्बर र हस्ताक्षरसहित फोन नम्बर पेश गरेमा औषधि प्राप्त गर्न सक्नेछन् । औषधि पाउन बिरामीको पुर्जा, कोरोनाको पीसीआर टेस्टको पोजेटिभ रिपोर्ट, औषधि खरिद गर्न आउने आफन्तको फोन नम्बर र फोटोसहितको परिचय पत्र पेश गर्नेपर्ने व्यवस्था विभागले विज्ञप्ती मार्फत जनाएको छ । कसरी काम गर्छ? वीर अस्पतालका कार्यरत पल्मोनोलोजिष्ट (फोक्सोसम्बन्धी रोगका विज्ञ) डा. प्रज्वल श्रेष्ठका अनुसार टोसिलिजुमावमाथि भएको अनुसन्धानमा यसले कोभिड बिरामीको उपचार र मृत्यु दरलाई कम गर्न सहयोग गरेको देखिएको छ । यहि महिनाको सुरुवातमा लेन्सेट जर्नलमा प्रकाशित रिपोर्टकाअनुसार २०२० देखि २३ अप्रिलदेखि २४ जनवरी २०२१ बीच ४११६ जना बिरामीलाई टोसिलिजुमाव प्रयोग गरेर अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानका अनुसार यो औषधि प्रयोग गरिएका कोभिडका बिरामीहरु २८ दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने तथ्यांक देखिएको थियो भने औषधि दिएपछि भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था कम भएको र बिरामीको मृत्यु हुने सम्भावना पनि कम हुने देखिएको थियो । ‘कोभिड निमोनिमा साइटोकेनिष्टम भएको हुनसक्छ । यस्तो बेला बिरामीलाई अक्सिजन घट्ने, एकदम ज्वरो आउने लक्षणहरु देखिन्छन्’, डा. श्रेष्ठ भन्छन्, ‘साइटोकेनिष्टम भएको र प्रोक्यालसिटोनिम लेबल नर्मल भएको अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।’ कडा खालको कोभिड निमोनिया भएमा, सिआरपि लेबल ७५ भन्दा माथि छ र कुनै पनि ब्याक्टेरियल इन्फेक्सन नभएको अवस्था (प्रोक्यालसिटोनिम लेबल नर्मल हुँदा)मा यो औषधिलाई प्रयोग गर्न सकिने देखिएको उनले बताए । भारतदेखि अन्य देशमा कोरोना महामारीको पहिलो लहर हुँदादेखि नै यो औषधिको प्रयोग गरिएको थियो । नेपालमा भने पहिलो लहर चल्दा साइटोकेनिष्टमका बिरामीहरु त्यत्ति देखिएका थिएनन् । तर, दोस्रो लहर चलिरहँदा भने यस्ता बिरामीहरुको संख्या पनि बढेको देखिन्छ । कडा निमोनिया भएका कोभिड बिरामी, जसलाई अत्यधिक ज्वरो, अक्सिजन लेभल कम र सिआरपी प्रोटिन लेभल ७५ भन्दा माथि देखिएमा विज्ञमार्फत यी सबै कुराको परीक्षण गराएर टोसिलिजुमावको प्रयोग गर्न सकेमा यसले फाइदा पुर्याउने डा. श्रेष्ठ बताउँछन् । यो औषधिको प्रयोग गर्दा आइएल सिक्सको लेभल पनि नाप्दा हुन्छ । तर, नेपालमा भने यसको सुविधा छैन । जसकारण साइटोकेनिष्टम तथा प्रोक्यालसिटोनिमको अवस्था परीक्षण गरेर यसको प्रयोग गर्न सकिने डा. श्रेष्ठले बताए । ‘कुनै बिरामीलाई प्रोक्याल्सिटोनिम नर्मल छैन भने यो औषधि प्रयोग गर्न पाइँदैन’, उनले भने, ‘ब्याक्टेरियल इन्फेक्सन भएको बिरामीलाई औषधि प्रयोग गरेमा त्यसले नकारात्मक असर गर्ने र इन्फेक्सन बढेर मृत्यु हुने सम्भावना पनि हुन्छ ।’ औषधि प्रयोग गर्न पर्ने अवस्था भएमा बिरामीलई २४ देखि ४८ घण्टाभित्रै यो औषधि लगाउनुपर्छ । समयमा औषधि नलगाएमा यसको प्रभावकारिता नहुने डा. श्रेष्ठ बताउँछन् । समयभित्रै औषधिको प्रयोग भएमा यसले बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा नपुर्याउने र मृत्युबाट पनि जोगाउने तथ्यांकहरुले देखाएको उनी बताउँछन् । ‘नेपालमा औषधि नभित्रिँदा हामीले यसको प्रयोग गर्न सकेका थिएनौं,’ उनी भन्छन्, ‘अब भित्रिएपछि यसको प्रयोगले हामीलाइ फाइदा नै पुर्याउने देखिएको छ ।’ टोसिलिजुमावको प्रयोगका लागि आवश्यक पर्ने सिआरपी परीक्षण जिल्ला जिल्लामा पनि भइरहेको छ । तर, साइनोकेनिष्टम मुख्य शहरमा मात्रै हुने गरेको डा. श्रेष्ठले बताए । पर्याप्त परीक्षणबिना प्रयोग गरेमा टोसिलिजुमावले नकारात्मक प्रभाव पार्ने भएकाले यसको आवश्यकताअनुसारका परीक्षणपछि मात्रै प्रयोग गर्नुपर्ने उनी बताउँछन् । उनले भने, ‘पर्याप्त परीक्षण गरेर मात्रै यसको प्रयोग गर्नुपर्छ । यसको मात्रा सिंगल डोज मात्रै हो । त्यसपछिको अवस्था हेरेर २४ देखि ४८ घण्टामा दोस्रो डोज प्रयोग गर्न सकिने भन्ने पनि छ ।’ तर, विश्वव्यापी मान्यतामा भने यसको पहिलो डोज नै पर्याप्त हुने देखिएको उनी बताउँछन् ।