NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चौधरीग्रामको बियर गोदाममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइयो

काठमाडौं । बुधबार बिहानैदेखि नवलपरासीस्थित चौधरी ग्रामको बियर गाेदाममा लागेको आगो नियन्त्रणमा आएको छ । नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरको बियर प्लान्ट र गोदाममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको हो । बुधबार बिहान ८ः२० बजेदेखि सुरु भएको भीषण आगलागीका कारण पूरै उद्योग जलेर सखाप भएको छ । उद्योग परिसरको सिजी ब्रुअरीमा आगो लागेको थियो । नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी र स्थानीयको सहभागितामा करिब दुई बजेतिर पूर्ण रुपमा आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । सिजी ब्रुअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने एकिन विवरण आउन अझै केही समय लाग्ने प्रहरीले बताएको छ ।