NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महन्थ–उपेन्द्र दुवैका पत्र खारेज : निर्वाचन आयोगले भन्यो, ‘कारबाही पुष्टि हुने आधार भेटिएन’

काठमाडौं । जनता समाजवादी पार्टीका दुई खेमाले एक अर्कालाई कारबाही गरि निर्वाचन आयोगमा पठाएको पत्र खारेज भएको छ ।उक्त पत्रमा प्रक्रिया नपुगेको भन्दै आयोगले दुवैका पत्र खारेज गरेको हो । मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरी निर्वाचन आयोगलाई पत्र पठाएका थिए । उक्त निर्णय लगत्तै महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टी सदस्यबाटै निष्कासन गरेको निर्णयसहितको पत्र आयोगमा पठाएका थिए । दुवैका पत्र दर्ता भए पनि आयोगले प्रक्रिया नपुगेको भन्दै खारेज गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको जानकारी गराउँदै मंगलबार आयोगमा पत्र पठाएका थिए । अर्का अध्यक्ष ठाकुरले पनि सोही व्यहोराको पत्र लेख्दै आयोगमा जानकारी दिएका थिए । ठाकुरले भने अध्यक्ष यादवलाई मात्र पार्टीबाट निष्कासन गरेका थिए । दुवैको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ । आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारबाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो ।