NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लक्ष्मीको उपचारका लागि प्रदेश सरकारले दुई लाख दिने

काठमाडौं । डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ । आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । उनको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए । लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको मागभाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएकी छन् । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्तिपूरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उहाँकी छोरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । आयोगका अध्यक्ष पराजुलीसँगको भेटमा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरिन् । पति सन्तोष हाल फरार छन् ।