NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

जनकपुरधाम । सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को आज बसेको वैठकले अगामी जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । सिरहा जिल्लामा जेठ २१ सम्म जारी गरिएको निषेधाज्ञामा थप गर्दै जेठमसान्तसम्म कायम गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । मृत्युदर समेतको अवस्थालाई दृष्टिगत गरि निषेधाज्ञा थप गर्ने निर्णय भएको उनको भनाई छ । सिरहा जिल्लाका कोरोना संक्रमणको दोस्रो लहरका क्रममा ७४ जनाको मृत्यु भईसकेको छ भने ५९० जना सक्रिय संक्रमित रहेको छ ।यस्तै महोत्तरीमा पनि निषेधाज्ञाको समय थपिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति महोत्तरीले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । डिएमसीसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताए । डिएमसीसीको निर्णय आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा थपिएको बताए । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै महोत्तरीमा वैशाख २२ गतेदेखि पटक पटक समय थप गर्दै निषेधाज्ञा लागु गरिएको छ । महोत्तरीमा कोरोना संक्रमणको जोखिम कम नभएसम्म निषेधाज्ञा जारी रह्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । महोत्तरीमा कोरोनाको दोस्रो लहरबाट ५७ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको १ हजार ८०८ रहेको छ । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइनेछ । यस्तै निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतका बन्द रहनेछ । वैवाहिक कार्यक्रममा डिजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जना सहभागी हुन सक्ने निर्णय गरिएको छ ।