NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपालमा ६० लाख मानसिक रोगी, तर छैन उपचारमा सहजता, सामाजिक बहिष्करणले झनै समस्याग्रस्त

नेपालको संविधान र कानुनहरुले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र उपचारमा पहुँचको व्यवस्था गरेको छ । शारीरिक स्वास्थ्यमा आधारभूत तहका र तोकिएका रोगका उपचार निःशुल्क देखि सहुलियतपूर्ण उपचार सुविधा प्रदान गरिँदै आएको छ । तर, उत्तिकै र अर्को महत्वपूर्ण पाटो मानसिक स्वास्थ्यका हकमा भने रोगीहरु निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । व्यक्ति स्वास्थ रहन शारीरिक र मानसिक दुवै पक्षमा उत्तिकै स्वास्थ र सन्तुलित हुनुपर्छ । शारीरिक स्वास्थ्य बिना मानसिक र मानसिक स्वास्थ्य बिना शारीरिक स्वास्थ्य गडबडी हुन्छ । तर, नेपालमा मानसिक स्वास्थ्यको पक्षलाई भने चरम बेवास्ता गर्ने गरिएको छ । जसका कारण विरामीहरु अनेक प्रताडता भोग्न बाध्य छन् ।ठोस आधिकारिक तथ्यांक नभए पनि नेपालमा अहिले करिब ६० लाख मानिसहरु मानसिक रोगबाट पीडित रहेको यस क्षेत्रका विज्ञ र डाक्टरहरुको अनुमान छ । तर, यति ठूलो संख्याको विरामी हिस्सा स्वास्थ्य उपचार नपाउनेदखि सामाजिक बहिष्करणमा पर्नेसम्मका समस्या झेलिरहेका छन् ।अधिकांश मानसिक विरामी अस्पतालको पहुँचमै छैनन् । पाटन मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ (लाखे) का अनुसार अधिकांश मानसिक रोगी अस्पताल नै आउँदैनन् । उनका अनुसार करिव १५ प्रतिशत रोगीहरुमात्र उपचारका लागि अस्पताल आउँछन् । करिब ८५ प्रतिशत मानसिक रोगी त उपचार सेवाबाटै बञ्चित छन् । जतिसुकै गम्भीर र संवेदनशील भए पनि मानसिक समस्यालाई रोग नै नमान्ने सामाजिक चेतनाका कारण अधिकांश रोगी अस्पताल नै जाँदैनन् । अर्कातिर यसप्रतिको जनचेतना र सरकारको प्राथमिकतामा नपर्दा मानसिक रोगीहरु पीडित भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारजनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक समस्या छ । आधुनिक उपचार प्रविधिले अधिकांश मानसिक रोगको पहिचान र उपचार सम्भव गराए पनि नेपालमा मानसिक रोगीहरु त्यसबाट बञ्चित छन् ।नेपालमा हरेक पाँच मानसिक रोगीमध्ये चारले त उपचारै नपाउने मानसिक मनोचिकित्सहरु बताउँछन् । मानसिक रोगीप्रति समाजले हेर्ने दृष्टिकोणका कारण पनि उनीहरु उपचारका लागि अस्पतालसम्म जानै मान्दैनन् । मानसिक रोगीप्रति हेयभावले हेर्नेदेखि भेदभाव गर्नेसम्मका समस्या समाजमा व्यप्त छन् । विकट र कतिपय ग्रामीण क्षेत्रमा त मानसिक रोगीलाई बाँधेर वा थुनेर राख्ने, पर्याप्त खानेकुरा, लत्ताकपडा र सुरक्षित आवासबाटसमेत बञ्चित गराउनेसम्मका अमानवीय गतिविधिसमेत हुने गरेका छन् । मानसिक रोगीलाई कलंकका रुपमा हेर्ने परम्परासमेत नेपालका धेरै क्षेत्रमा अझै कायम छ । पूर्वजन्मको फल, पापकर्म, भूतप्रेत, बोक्सी, भाग्य जस्ता रुढीवाद र अन्धविश्वासमा परेर रोगीहरुलाई तिरस्कार गर्ने संस्कार ग्रामीणमात्र होइन शहरी क्षेत्रमा पनि व्यप्त छ । यही विश्वासका कारण धामीझांक्री तथा पुरोहितको भर पर्ने परम्परा पनि अझै व्यप्त छ । रोगको उपचार विधिभन्दा अन्धविश्वासका कारण धामीझांक्री र झारफुकमा भर पर्दा अधिकांश मानसिक रोगीको उपचार हुनै पाउँदैन ।मानसिक समस्याले व्यक्तिलाई आफैंमा असामञ्जस्यता सिर्जना गर्ने र सामाजिक अपमान, उपचारको कमी लगायतका कारण पनि मानसिक रोगीहरु आत्महत्यासमेतको बाटो रोज्न विवस छन् । कतिपय मानसिक रोगी अपराधतर्फसमेत प्रेरित हुने गरेका छन् । मानसिक रोगीको आधारभूत मानव अधिकारसमेत ठूलो उपहास भइरहेका बेला यसतर्फ राज्यको भने ध्यान जान नसकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग सेवा विभागका प्रमुख डा. सरोज ओझा बनाउँछन् । मानसिक स्वास्थ्यका क्षेत्रमा राज्यको बजेट, जनशक्ति लगायतका स्रोत पनि अत्यन्त सीमित छन् । मनोचिकित्सकहरु मानसिक स्वास्थ्यको विषय राज्यको प्राथमिकतामै नपरेको बताउँछन् । पाटन अस्पताल, वीर अस्पताल, त्रिवि अस्पतालसहित केही सीमित अस्पतालबाहेक अधिकांश अस्पतालमा त मानसिक रोगको उपचारसमेत पनि हुन्न । अर्कातिर दातृ निकायहरुको प्राथमिकता पनि मानसिक स्वास्थ्यतर्फ खासै देखिँदैन ।