कोरोना महामारी : धुलिखेलले मृतक परिवारलाई किरिया खर्च दिने
धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ। कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ। ‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ,’ नगरप्रमुख अशोक ब्याञ्जूले भने। उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ। कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय सङ्क्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा २७३ सङ्क्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया