NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

माधव नेपाल समूहमै ‘फाटो’: ओलीसँगै मिल्ने कि नयाँ पार्टी गठन ?

काठमाडाैं । पार्टी अध्यक्ष केपी शर्मा ओलीसितै मिलेर एमालेमा रहने या पार्टी पुनर्गठन गर्ने भन्नेमा एमालेको माधव नेपाल समूहमा फाटो आएको छ । ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको चेपुवामा नेता नेपाल छन् । गत जेठ १७ गते नेपालपक्षीय वार्ता टोलीका सदस्यहरूले ओली पक्षका वार्ता टोली सदस्यसँग पार्टी एकताका लागि छलफल गरेको र वार्ता समितिमा रहेका अधिकांश व्यक्ति ओली सरकारको मन्त्री बन्दै गरेको सूचना पाएपछि नेपाल समूहका जनवर्गीय संगठनका पदाधिकारी र नेपालबीच बुधबार भर्चुअल संवाद भएको थियो । उक्त छलफलमा जनवर्गीय संगठनका अधिकांश सदस्यले माधव नेपालले नेतृत्व गरेको विचार समूहमा बसेर ओलीलाई बलियो बनाउने गरी सिनियर नेताहरू नै लागेको भन्दै त्यस्ता प्रवृत्तिका नेताहरूलाई छाडेर भए पनि अघि बढ्नुपर्ने बताएका थिए । ‘वार्ता टोलीका संयोजक भीम रावललाई कारबाही भएको छ तर अरू सदस्यहरू एकताका नाममा वार्ता गरिरहेका छन्, यो हाम्रो समूहमा बसेर यही समूहलाई कमजोर बनाउने प्रवृत्ति हो,’ बैठकमा उठेको भनाइ उद्धृत गर्दै नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘हाम्रो अध्यक्ष कमरेड ओलीबाट कम्युनिस्ट पार्टीको शिरमा बसेर आन्दोलनलाई नै हम्मर हान्ने कुरा भयो, यसले कम्युनिस्ट पार्टी बच्न सक्दैन । उहाँको पदबाहेक सबै विघटन भयो ।’ बैठकमा अधिकांश नेताहरूले आफू कमजोर हुँदा एकता गरौं भन्ने र बलियो हुँदा कारबाही गर्ने ओलीको प्रवृत्ति रहेकाले त्यसबाट बच्नुपर्ने बताएका थिए । उनीहरूले दुईवटा नाउमा टेकेर दोहोरो भूमिका खेल्ने नेताहरूलाई बिर्सिन नेपालसँग आग्रह गरेका थिए । नेपालले यसबारेमा वार्तामा बसेका नेताहरूको राय बुझ्ने बताएका थिए । ओलीसित मिल्ने नै हो भने पनि आफूहरूको आत्मसम्मानमा ठेस नलाग्ने गरी मात्रै सहमति जुटाउन अधिकांश जनवर्गीय संगठनका सदस्यले सुझाव दिएको युवा संघका अध्यक्ष नरेश शाहीले बताए । ‘बैठकमा आएका कुरा र माधव कमरेडको जवाफअनुसार मिल्नेभन्दा नमिल्ने सम्भावना नै धेरै छ,’ उनले भने । ओलीले बेलाबेला वार्ताका नाममा बोलाउने र नेताहरूले दोहोरो रबैया देखाउने गरेकाले नै आफ्नो समूह घाटामा परेको बैठकमा सहभागीहरूको निष्कर्ष थियो । ‘मध्यमार्गी हौं भन्नेहरूले कहिले यता, कहिले उता गर्दा हामीलाई घाटा त भएको छ नि,’ नेपालनिकट अर्का एक नेताले भने, ‘पुस ५ गते हाम्रो समूहमा ४३ जना सांसद थिए, अहिले घटेर २८ हुँदै २३ मा पुगेका छन् । यस्तै चाल हो भने अझै कमजोर भइन्छ, त्यसैले पनि नेतृत्वको ध्यानाकर्षण गराएका हौं ।’ ‘हामीलाई विभाजन गर्न हल्ला चलाइयो’ ओली र नेपालमध्ये कुन समूहमा लाग्ने भन्ने मझधारमा रहेका भनिएका चार नेताहरूले भने आफूहरूलाई विभाजन गर्न ओली समूहमा लागेको भन्ने हल्ला चलाइएको निष्कर्ष निकालेका छन् । बुधबार दिउँसो ३ देखि ८ बजेसम्म नेताहरू भुसाल, पाण्डे, भट्टराई र बिष्ट पाण्डेको निवास स्वयम्भूमा छलफलमा बसेका थिए । ‘हाम्रो समूहमा ओलीजीको जस्तो डिक्टेटरसिप हुँदैन, सबै नेताहरू गणतान्त्रिक छन्, त्यसैले विभिन्न खाले कुरा उठ्नु स्वाभाविक हो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर ओलीजीले आफूलाई नसच्याउँदासम्म उहाँको समूहमा जाने भन्ने कुरा हुँदैन, हामीलाई हाम्रै टिमभित्र बदनाम गराउन नचाहिँदो प्रचार गरिएको हो ।’ ती नेताले भनेअनुसार वार्ता टोलीका रूपमा भन्दा पनि व्यक्तिगत रूपमा भएको भेटलाई वार्ता भनेर प्रचार गरिएको हो । ‘हाम्रो वार्ता टोलीका संयोजकलाई कारबाही गरिएको छ, हामी किन जाने भन्नेमै थियौं, उहाँहरूले व्यक्तिगत रूपमा छलफल गरौं, प्रचारबाजी नगरौं भन्नुभयो, छलफलमा गइयो,’ ती नेताले भने, ‘ओलीजीको समूहमा रहेका विभाजन चाहने समूहले वार्ता भनेर प्रचार गराएछ, त्यो गलत हो, यही प्रचार भएकै कारण हामी चारजना बसेर समीक्षा गरेका छौं,’ ती नेताले भने, ‘हाम्रो समूहमा छलफल हुन्छ, आ–आफ्ना विचार आउँछन् तर ओलीजीले जे गरेका कारण हामी आन्दोलनमा छौं, त्यो सन्दर्भमा एकै ठाउँमा छौं । यताको बागी विद्रोही भनेको हामी नै हो, हामी नै एकै ठाउँमा भएपछि समस्या हुने कुरा भएन ।’ ओली समूहले यी चार नेतालाई आफ्नो समूहमा लैजाने तर खनाल–नेपालसहितका नेताहरूलाई पार्टीमा नफर्काउने नीति लिइरहेका बेला आफूहरूको रणनीति तय गर्न यिनीहरू जुटेका हुन् । बिहीबार बस्ने आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्भवत: उनीहरूले आफ्ना कुरा स्पष्ट पार्नेछन् । कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष