NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एकताका लागि अन्तिमसम्म लागिरहनेछौं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि अन्तिमसम्म लागिरहने बताएका छन् । उनले पार्टीको एकता नै आफूहरुको विश्वास र अडान रहेकाले आफूहरु निरन्तर यसमा प्रयत्नशील रहने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता विष्टले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिनेतर्फ आफूहरु अडिक रहेको बताए ।उनले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौं । अन्तिमसम्म लागिरहनेछौं । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’ साथै उनले एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्न आफ्नो नाम जोडेर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् । उनले अघि भनेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् ।’ एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासलाई कमजोर पार्न यस्ता सामग्रीहरु प्रकाशन गरिएको र त्यसको पुष्टि समयले नै देखाउने बताएका छन् ।‘एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला’, नेता विष्टले उल्लेख गरेका छन् । पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु नै आफ्नो चाहना भएको नेता विष्टले बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष