NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सहज छैन यार्सा खोज्न : एकसातामै तीन जनाले ज्यान गुमाएपछि गाउँ फर्किन थाले संकलक

दार्जुला । पश्चिम नेपालका हिमाली जिल्लाका नागरिकको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा हो । वशन्त ऋतुको सुरुवातसँगै यस क्षेत्रमा मानिसहरु वर्षभरीको खर्च जोहो गर्न पाटनतिर जान्छन् । करिब एक महिना गरिएको बहुमूल्य बुटी यार्सागुम्बा संकलनले यहाँका नागरिकको वर्षभरीको खर्च मात्रै होइन बालबालिका पढाउने आर्थिक स्रोत पनि हो । यस्तै, सुदूरपश्चिमको दार्जुलाका उपल्लो क्षेत्रका मानिसको पनि मुख्य आम्दानीको स्रोत यार्सागुम्बा नै हो । खेतबारीमा लगाएको अन्नले तीन महिना पनि नपुग्ने यहाँका नागरिकको आर्थिक जोहो यार्सागुम्बाबाटै हुन्छ । लामो समयदेखि यो क्रम चलिरहेको छ । तर, पूरै विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसका कारण दुई वर्षदेखि राम्रोसँगै यार्सा संकलन गर्न पाएका छैनन् । आम्दानी आकर्षक भए पनि यार्सा संकलन गर्न त्यति सहज भने छैन । शरीर जमाउने चिसोमा ज्यानको बाजी थापेर पाटनमा संघर्ष गुर्नपर्दछ । हरेक वर्ष पाटनमा सैयौंले ज्यान गुमाउँछन् । यस्तै, यसवर्ष पनि यार्सा संकलनका लागि गएका दार्चुलाका तीन जनाले पाटनमै ज्यान गुमाएका छन् । गतवर्ष यार्सा टिप्न नपाएका अपिहिमाल गाउँपालिकाका स्थानीय यसवर्ष पाटनमा छन् । जेठ पहिलो साताबाट संकलनमा पाटन गएकामध्ये एकसातामै तीन जनाले ज्यान गुमाएका छन् । घरमा खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाएका हुन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा संकलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीय निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा संकलन गर्न पाटन गएकी थिइन् । घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको संकलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बताइन् । गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए । यस्तै जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा संकलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् । जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । ‘मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्’, अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्कीले भने, ‘गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।’ व्यास–१ का योगेश बोहरा यो वर्ष पाटनमा खासै यार्सागुम्बा नपाइने गरेको बताउँछन् । ‘मान्छे आउने जाने क्रम चलेको छ । मौसम पनि राम्रो छैन्’, उनले भने । यो वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छैन । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र दिने गरेको थियो । सोहीअनुसार सङ्कलकहरु लेक जाने गरेका थिए । रासस

ताजा अपडेट

नेपालवाच विशेष