NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीले एकताकाे कार्ड फ्याके, के गर्ला माधव पक्ष? आकस्मिक बैठक बस्दै

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित १२ नेतालाई साधारण सदस्यबाट समेत निस्कासन गरेका एमाले अध्यक्ष केपी ओलीले एकताकाे कार्ड फ्याँकेका छन्। संसद विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाकाे सुनुवाइका लागि संवैधानिक इजलाश पुन:गठन भएकै साँझ अर्थात आइतबार ओलीले ‘पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको’ घोषणा गरेका थिए। उनले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन्। राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिकरुपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताएका थिए। ओलीकाे याे घाेषणामाथि माधव समूहका नेताहरुले आशंका व्यक्त गरिरहेका छन्। विषयमा संस्थागत धारणा बनाउन माधव पक्षले आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ।