NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रदेश २ काे बजेट अधिवेशन आजबाट सुरु हुँदै

प्रदेश २ को प्रदेशसभाको छैटौँ अर्थात बजेट अधिवेशनको पहिलो बैठक सोमबार बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचाैँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८-०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ । प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८-०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ । प्रदेशसभामा प्रदेश प्रमुख अहिराजले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ।