NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रहरीमा यी तीन पद थपिँदै

बढुवामा देखिएको समस्या समाधान गरी तल्लो तहका कर्मचारीको मनोबल उकास्न नेपाल प्रहरीले तीनवटा नयाँ पद थप्ने प्रस्ताव गरेको छ । वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्नका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । नायब निरीक्षक ९सइ०बाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा धेरै समय लाग्ने भएपछि तल्लो तहका प्रहरीमा धेरै असन्तुष्टि छ । पद थपेपछि बढुवा समयमै हुने र तल्ला कर्मचारीको मनोबल पनि बढाउने प्रहरी अधिकारीको भनाइ छ । सशस्त्र प्रहरीमा यसअघि नै यी पद कायम छन् । सेनामा पनि तल्लो तहमा धेरै पद छन् । प्रहरी नियमावली संशोधन गरेर नयाँ पद थप गर्न लागिएको हो । त्यसका लागि प्रहरी प्रधान कार्यालयले नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा पेस गरिसकेको छ । गृहले कानुन तथा अर्थ मन्त्रालयसँग राय लिएर नियमावली संशोधन गर्नेछ । ‘केही पद थप्नेबारे छलफल भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने । नयाँ पद थपिएमा सइबाट ६–७ वर्षमा वरिष्ठ सइ र वरिष्ठ सइबाट ६–७ वर्षमा इन्स्पेक्टरमा बढुवा हुनेछन् । ०६० मा सइमा बढुवा भएकाहरू अहिलेसम्म पनि सोही पदमा कार्यरत छन् । समयमा बढुवा नहुँदा कतिपयले त राजीनामा दिने गरेका छन् । त्यस्तै, जवानबाट हवल्दारमा बढुवामा हुन पनि १५ वर्षभन्दा धेरै समय लाग्ने अवस्था छ । जवानमा भर्ना भएका कतिपयले असइमा समेत नपुगी ३० वर्षे अवधि पुगेर अवकाश पाउने गरेका छन् । यो समस्या सम्बोधन गर्न जवानपछि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारको पद सिर्जना गर्न लागिएको हो । सकेसम्म दरबन्दी थपेर, नभए हालकै दरबन्दीबाट मिलान गरेर नयाँ पद थप्नेबारे छलफल भइरहेको एक उच्च प्रहरी अधिकारीले बताए । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक कामसमेत भइसकेको छ । तर, प्रहरी समायोजनका लागि केन्द्र र प्रदेशको संगठन तथा दरबन्दी संरचनासमेत स्वीकृत भइसकेकाले नयाँ पद तत्काल थप्दा समस्या हुन सक्ने गृह मन्त्रालयका केही अधिकारीहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ।