NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

१०० किलाेवाटकाे अपि हिमालबाट विद्युत उत्पादन हुँदै

अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो । विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए। ‘अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ,’ अध्यक्ष धामीले भने, ‘मजदुर पाइयो भने एक महिनाभित्र विद्युत्को काम सकिने छ ।’ पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ। अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरे। ‘निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन,’ उनले भने। विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । यो विद्युत् साविकको खण्डेश्वरी गाविसको ७०० घरधुरीमा पु-याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जनाइएको छ । अहिलेसम्म विद्युत निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले दुई करोड ८५ लाख, गाउँपालिकाले ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत ५० लाख र स्थानीय उपभोक्ताको ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ। रासस